• Saturday 1st of August 2026

सातसय १९ लाभग्राहीले सम्झौता गरेनन्


  • गोकर्णेश्वर अनलाइन

विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनःनिर्माणको सूचीमा समावेश भएका ७०० लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६७६ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि ७१९ जनाले सम्झौता नगरेको जानकारी दिनुभयो । अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो ।

आवास पुनःनिर्माणका लागि सम्झौता नगरेसँगै त्यस्ता लाभग्राही अनुदान प्राप्त गर्नबाट वञ्चित भएका छन् । व्यास नगरपालिकामा दुई हजार ९३ लाभग्राही कायम भएकामा दुई हजार दुई, भानु नगरपालिकामा चार हजार ५५१ लाभग्राही कायम भएकामा चार हजार ३८८, बन्दीपुर गाउँपालिकामा एक हजार २४ लाभग्राही कायम भएकामा ९४४, आँबुखैरेनी गाउँपालिकामा ७५२ लाभग्राही कायम भएकामा ७३३ र देवघाट गाउँपालिकामा ६१९ लाभग्राही कायम भएकामा ५९३ रहेका छन् । यसैगरी घिरिङ गाउँपालिकामा ३१७ लाभग्राही कायम भएकामा २९३, भीमाद नगरपालिकामा एक हजार १४५ एक हजार ४२, म्याग्दे गाउँपालिकामा एक हजार ३९२ लाभग्राही कायम भएकामा एक हजार ३११, शुक्लागण्डकी नगरपालिकामा एक हजार ९५७ लाभग्राही कायम भएकामा एक हजार ८५३ र ऋषिङ गाउँपालिकामा ५४५ लाभग्राही कायम भएकामा ५१७ ले मात्रै सम्झौता गरेका छन् ।

६८ प्रतिशत पुनःनिर्माण सम्पन्न

तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार ३७३ घर पुनःनिर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार ६६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार ६५४ रहेको छ ।

माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिसपश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिसपछि तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार ३५३, भानु नगरपालिकामा दुई हजार ९९३, बन्दीपुर गाउँपालिकामा ६८४, आँबुखैरेनी गाउँपालिकामा ५९७, देवघाट गाउँपालिकामा ४१८, घिरिङ गाउँपालिकामा १९७, भीमाद नगरपालिकामा ६७३, म्याग्दे गाउँपालिकामा ९१७, शुक्लागण्डकी नगरपालिकामा एक हजार २०२ र ऋषिङ गाउँपालिकामा ३३९ निजी आवास पुनःनिर्माण सकिएको छ ।

यसैगरी व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार ४८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार ३८८ ले पहिलो र तीन हजार ३५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा ९४३ ले पहिलो र ८१७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा ७३३ ले पहिलो र ६३८ ले दोस्रो, देवघाट गाउँपालिकामा ५९३ ले पहिलो र ४७८ ले दोस्रो, घिरिङ गाउँपालिकामा २९३ ले पहिलो र २२० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र ८२५ ले दोस्रो दोस्रो किस्ताबापतको रकम बुझेका छन् । त्यस्तै दोस्रो किस्ताबापतको रकम बुझ्नेमा म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार ८५२ ले पहिलो र एक हजार ४३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका ५१७ ले पहिलो र ४०६ लाभग्राहीले रहेका छन् ।

प्रबलीकरणतर्फ एक हजार ५६८ लाभग्राही रहेकामा एक हजार २४१ ले सम्झौता गरेका छन् भने एक हजार २३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology