• Saturday 1st of August 2026

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो


  • गोकर्णेश्वर अनलाइन

जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ ।

आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिनुभयो । कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको थापाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ ।

नाम दर्ता अधिकारीको कार्यालय शुक्रबार तथा सार्वजनिक बिदाका दिनमा समेत बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मका लागि खुला रहने छ । निर्वाचन कार्यालय हुम्लाले सातवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी थापाले जानकारी दिनुभयो ।

जिल्लाका सात गाउँपालिकाका ४४ वडा रहेको हुम्लामा ५२ मतदान केन्द्र छन् । यो पटक एउटा मदातन केन्द्र थप गर्न माग गरीएकोले स्वीकृत हुने वा नहुनेमा केही जानकारी नभएको बताइएको छ । प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन् । उनीहरूलाई माघ ११ गते तालीम हुन्छ । फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्नेछ । नाम्खा गाउँपालिका ११ मतदान केन्द्र सिमकोटका आठ, खार्पुनाथमा पाँच, सर्केगार्डमा ११, चङ्खेली गाउँपालिका सात, अदानचुलीमा छ र ताजाँकोट गाउँपालिकामा छ मतदान केन्द्र निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयमा १३ दल दर्ता भए पनि हालसम्म पाँच दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १३ पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology