• Saturday 1st of August 2026

म्याग्दीको दानामा सवस्टेशन निर्माण


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दानामा सवस्टेशन निर्माण गरेको हो । म्याग्दी र मुस्ताङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न सवस्टेशन बनाइएको आयोजनाको बेनीस्थित कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख चन्दनकुमार घोषले दाना र पर्वतको खुर्कोटमा सवस्टेशन र प्रसारण लाइन निर्माण सकेर विद्युत् जोडी ट्रान्सफर्मर चार्ज गर्न थालिएको जानकारी दिनुभयो । दाना सवस्टेशनको स्विचार्डमा खुर्कोटबाट डबल सर्किटमा १३२ केभी क्षमताको विद्युत् जोड्ने कार्यको परीक्षण शुक्रबार राति सफल भएको छ । “यो सवस्टेशनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ”, आयोजना प्रमुख घोषले भन्नुभयो, “स्विचार्डमा जडित ट्रान्सफर्मर चार्ज भएपछि सवस्टेशन सञ्चालनमा आउँछ ।” एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मे मा आयोजना निर्माण शुरु भएको थियो । ३९.६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन र सवस्टेशन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु दुई अर्ब ९० करोडमा ठेक्का लिएको थियो । एक सय १० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले बताउनुभयो ।

जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढी र पहिरोका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो । दानामा चार वटा स्विचार्ड बनाइएको छ । पावर प्लान्ट र प्रशासनिक भवनको रङरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथीगृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको सवस्टेशनको वरपर पक्की पर्खाल लगाएर घेराउ गरिएको छ ।

स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले मोदी–चुवा–खुर्कोट हुँदै दाना सवस्टेशनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो । दाना सवस्टेशनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ ।

सवस्टेशनका ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक ताराप्रसाद प्रधानले बताउनुभयो । “खुर्कोट सवस्टेशनको चार्ज र परीक्षण सफल भयो”, उहाँले भन्नुभयो, “खुर्कोटबाट दाना सवस्टेशनसम्म १३२ केभी लाइनबाट विद्युत् पुगेको छ । त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारीमा जुटिरहेका छौँ ।”

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार खुर्कोटदेखि बर्दघाटतर्फ पनि प्रसारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीमा विद्युत् विकासमा महत्वपूर्ण सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology