• Saturday 1st of August 2026

रम्तेलडाँडा वन प्रकरण : २२ जनाविरुद्ध मुद्दा


  • गोकर्णेश्वर अनलाइन

सघन चर्चा पाएको रम्तेलडाँडा वन फँडानी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा पेश भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनक्षेत्रको करिब चार बिघा क्षेत्रफलको वन फँडानी गरेविरुद्ध २२ जनामाथि जिल्ला अदालतमा मुद्दा पेश गरेको हो ।

यस मुद्दामा जिल्लास्थित वन कार्यालयकै सात कर्मचारी र अन्य संलग्न १५ समेत २२ जनामाथि मुद्दा पेश गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । मुद्दामा वनक्षेत्रलाई आफ्नो दर्ता जग्गा भएको दाबी गर्ने दुई, रुख कटान सम्मतिका लागि सिफारिस गर्ने डिभिजन वन कार्यालयका सात कर्मचारी, बर्दिबासस्थित मालपोत र नापी कार्यालयका एक÷एक कर्मचारी, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, रुख कटानमा संलग्न ठेकदार र सर्जमीन मुचुल्कामा हस्ताक्षर गर्नेसहितलाई प्रतिवादी बनाइएको छ ।

अदालतमा पेश भएको मुद्दाको फाइल आज प्रक्रियामा अघि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभएको हो । वन फँडानी प्रकरणमा वन कार्यालयका एक सहायक वन अधिकृत, एकजना फरेष्टर र पाँच वनरक्षकसहित वनका सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ । पेश भएको मुद्दामा वनको जग्गा कृष्णप्रसाद गौतम र लीलामणि आचार्यको हो भन्दै सर्जमीन मुचुल्कामा कामको तामेली गर्ने सव डिभिजन वन कार्यालय बर्दिबासका फरेष्टर सन्तोषकुमार साह, वन रक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेश यादव, नारायण ढुङ्गेल र दिलीप महतोमाथि मुद्दा चलाउन फाइल पेश भएको जनाइएको छ ।

त्यसैगरी जग्गाधनी भएको दाबी गर्ने गौतम र आचार्य, मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, नापी कार्यालय बर्दिबासका अमिन रामदरश राउत, बर्दिबास नगरपालिका–१ नम्बर वडाका वडा सदस्य शान्ता श्रेष्ठ, रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउतमाथि मुद्दा चलाउन अदालतमा फाइल बुझाइएको डिभिजन कार्यालयले जनाएको छ । यी सबैले वनको जग्गा व्यक्तिको रहेको किटानी सर्जमीन गरेका जनाइएको छ ।

बर्दिबास–१ का गौतम र आचार्यले सामुदायिक वनक्षेत्रको जग्गालाई आफ्नो दर्ता रहेको र त्यहाँका रुख आफैले रोपी हुर्काएको दाबी गर्दै कटान स्वीकृतिका लागि गत असोजमै डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले निवेदनबारे यथार्थ बुझ्न खटाएका सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादवसहित मुद्दामा प्रतिवादी बनाइएकाले कटान गर्न दिने व्यहोराको किटानी सिफारिस दिएपछि कार्यालयको आदेशमा पुसमा रातारात रुख कटान गरिएको थियो । स्थानीय वरपरका बासिन्दाले थाहा पाएर हल्ला गरेपछि कटान रोकिएसँगै घटना सार्वजनिक भएपछि सो प्रकरण चर्चामा आएको हो ।

बर्दिबासमा यो घटना सार्वजनिक भएलगत्तैदेखि दिनहुँजसो फँडानीमा संलग्न सबैमाथि कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन हुँदै आएको छ । गौतम र आचार्यले आफ्नो लालपूर्जा देखाएका साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास–१) कित्ता नम्वर–३ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) क्षेत्रफलको भनिएको जग्गा अहिले पछि विज्ञ लगाएर नापजाँच गर्दा फँडानी भएको क्षेत्र कतैबाट पनि दाबीकर्ताको नपरेको नछोएको डिभिजन प्रमुख साहले बताउनुभयो ।

जिल्लामा वर्षेनि वन फँडानी र अतिक्रमणका घटना बढ्दै गएका छन् । गत वर्ष मात्र बर्दिबास–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले सीमाङ्कन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology