• Saturday 1st of August 2026

टल्कनै छाडे हिमालमा हिउँ


  • गोकर्णेश्वर अनलाइन

समयमा हिउँ नपर्दा यस वर्ष रुकुम (पूर्व) का हिमालको सौन्दर्य झल्किन पाएको छैन । केही वर्ष पहिलेसम्म बाह्रैमहिना हिउँ रहिरहने हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि सौन्दर्यको रुपमा देखापर्ने हिमाल टल्कन छोडेका हुन् ।

पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन भने तल्लो क्षेत्रमा वर्षासमेत भएको छैन् । हिउँ पर्ने मौसममै हिमालमा हिउँ नभएपछि हिमाली क्षेत्र उजाड देखिन थालेका छन् । हिमालको प्राकृतिक सौन्दर्यता नै हराउँदै गएको रुकुम (पश्चिम) बाफिकोट गाउँपालिका हिमाल आरोही मनबहादुर खत्री बताउनुहुन्छ । हिमाली क्षेत्रमा देखिएको यो समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।

दर्जन हिमालको आरोहण गरिसक्नुभएका खत्रीले विगतका वर्ष र अहिलेको वर्षमा सिस्ने हिमालमा धेरै परिवर्तन आएको बताउनुभयो । चार÷पाँच वर्ष अघिसम्म बाह्रै महिना हिउँ टल्कने हिमाललाई अहिले नियाल्दा चट्टान मात्र देखिने गरेको उहाँको भनाइ छ । रुकुम (पूर्व) मा पाँच हजार ८४० मिटरदेखि सात हजार २४६ मिटर उचाइ भएका पाँच वटा हिमाल रहेका छन् भने अन्य साना थुप्रै हिमाल र हिमताल छन् । जिल्ला प्रशासन कार्यालय रुकुम९पूर्व०को आधिकारिक वेबसाइटमा राखिएको जानकारीअनुसार जिल्लाकै सबैभन्दा अग्लो हिमाल पुथाको सात हजार २४६ मिटर उचाइ रहेको छ ।

यस्तै दोगारी हिमालको उचाइ छ हजार ५३६ मिटर रहेको छ भने सामजाङ्ग हिमालको उचाइ पाँच हजार ९२४ मिटर छ । यस्तै सिस्ने हिमालको उचाइ पाँच हजार ९११ मिटर उचाइ रहेको छ भने निम्कु हिमालको उचाइ पाँच हजार ८४० मिटर रहेको छ । यी हिमालमा पुग्नको लागि ट्रेकिङ रुट निर्माणको काम भइसकेको छ । अहिलेसम्म सिस्ने र पुथालगायत त्यस आसपासका हिमालमा जाने रुट तयार भइसकेको हिमाल ओरोही खत्रीले बताउनुभयो । पुथा हिमाल जाने रुट छ वर्षअघि तयार भइसकेको छ भने सिस्ने हिमाल जानको लागि भने भर्खरै मात्र तीनवटा रुट पत्ता लगाइएको छ ।

लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न अन्वेषण टिमले जनाएको छ ।

यो अन्वेषणको नेतृत्व सिस्ने आरोही खत्रीले नै गर्नुभएको छ । खत्रीको नेतृत्वमा भइरहेको अन्वेषणमा रुकुम ९पूर्व० को सिस्ने गाउँपालिकासहित रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाले सहयोग गर्दैछन् । सरकार संस्था र व्यक्तिको त्रिपक्षीय साझेदारीमा भइरहेको गन्तव्य अन्वेषणमा संस्कृति तथा पर्यटन विकास केन्द्र पनि लागिरहेको छ ।

गत जेठदेखि गन्तव्य पहिचान शुरु गरिएको थियो । पहिलेका कतिपय तथ्याङ्कसमेत प्रयोग गर्दैै अन्वेषण टोलीले ट्रेक गर्दै रुट पहिचानको आधारभूत काम सम्पन्न गरेको छ । प्रारम्भिक अध्ययनबाट यहाँ १४ दिनको ट्रेक बन्दैछ । यो ट्रेकको विकास गर्ने हो भने थुप्रै विदेशी पर्यटक भित्रयाउन सकिने अन्वेषण टोलीको निष्कर्ष छ । देशका सबै ट्रेकिङमा पथप्रर्दशन गरिसक्नुभएका खत्रीले सिस्ने हिमालको पछाडिपट्टिको भागबाट काञ्जिरोवाका २८ हिमाल देख्न सकिने बताउनुभएको ।

यस्तै त्यहाँबाट सानीभेरी, ठूलीभेरी दुबैको मनोरम दृश्य देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “सिस्ने राउण्ड लागाउनु भनेको श्रीपेचको वरिपरि घुमे जस्तै हो ।” तत्काललाई जाने बाटोमा व्यवस्थित आवास र खानपानको व्यवस्था नभएकाले सिस्ने राउण्डको लागि रु एक लाख वा त्यो भन्दा बढी खर्च लाग्ने गर्दछ । यसलाई व्यवस्थित बनाउने हो भने १४ दिनमा रु १४ हजार खर्चले सिस्ने राउण्ड लागाउन सकिन्छ, उहाँले भन्नुभयो । अब पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि भने सजिलै आन्तरिक पर्यटक भित्र्याउन सकिने छ ।

सिस्ने चक्रियको मार्ग तालिका

ती हिमालको मनोरम दृष्यका लागि निर्माण गरिएको ट्रेकिङ रुटलाई सिस्ने राउण्ड नामाकरण गरी १४ दिनको तालीका बनाइएको छ । तालीकाअनुसार राडी आठबीसकोट–बञ्चरेबाट शुरु भएको सिस्ने राउण्डको ट्रेकिङ यात्रा बञ्चरे–जलजला, जलजला–डम्माना, डम्माना–कोल्टी, कोल्टी–खाल्टी, खाल्टी–गुप्तदह, गुप्तदह–निगालटाटा, निगालटाटा–सिस्ने बेस क्याम्प, सिस्ने बेस क्याम्प–सिस्ने हाइ क्याम्प, सिस्ने हाइक्याम्प–नौ दह (सानो कैलाश), नौ दह (सानो कैलाश)–देउतीपाटन, देउतीपाटन–खोलापाटन, खोलापाटन–होलीकाँडा, होलीलीकाँडा–गोतामकोट–राडी आठबीसकोट पुगेर टुङ्गिने छ ।

यस्तै उक्त अन्वेषण टोलीले सिस्नेदेखि पुथा हिमालसम्म पुग्नको लागि सिस्ने पुथा ट्राभर्स निर्माणको काम पनि गरिरहेको छ, भने पुथाबाट चुरेन हुँदै धौलागिरिसम्म जोड्ने काम भइरहेको खत्रीले बताउनुभयो । “पुथा हिमाल डोल्पाबाट सजिलै जान सकिन्छ र अहिले मानिस पनि डोल्पाबाटै पुथा जाने गरेका छन्,” उहाँले भन्नुभयो, “सहज बाटो नभएको कारण रुकुम (पूर्व) बाट भने पुथा हिमालसम्म पुग्न कठिन हुने गरेको छ ।”

अब भने ट्रेकिङको रुट निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको अन्वेषण टोलीले जनाएको छ । अब यहाँका स्थानीय, प्रदेश र सङ्घ सरकारले ठाउँठाउँमा घरवास पर्यटन(होमस्टे) सञ्चालन गर्नुपर्नेदेखि लिएर डोल्पा जोड्ने सडक निर्माण गर्ने र एकीकृत पर्यटन प्याकेज लिएर काम गर्नुपर्ने अन्वेषक खत्रीको सुझाव छ । सिस्ने हिमालमा भने अहिले हिउँ नभएकै कारण आरोहणमा समस्या भइरहेको अन्वेषण टोलीले जनाएको छ । जलवायु परिवर्तनलगायतका कारणले समयमै हिउँ पानी नपर्दा समस्या देखिएको हुनसक्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरको भनाइ छ । (खोजी समाचार)

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology