• Saturday 1st of August 2026

तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै


  • गोकर्णेश्वर अनलाइन

मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा सकेको काम गर्दै आएका छन् ।

“गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँछौँ” उहाँले भन्नुभयो । उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि सोही बस्ती निर्माणमा दिनुभएको छ ।

हाल स्थानीय युवा वीरेश तामाङको दैनिकी पनि बस्ती निर्माणमा सकेजानेको काममा बितिरहेको छ । उहाँ भन्नुहुन्छ, “हामी सय दिनभन्दा बढी जनश्रमदानमा जुटेका धेरै छौँ, सुन्दरबस्ती बनाउने योजनामा भरपुर साथ दिइरहेका छौँ ।”

उहाँले संवाद समूहसँगको छलफलमा स्थानीय भूकम्पपीडितलाई आवास निर्माणका लागि कारितास् नामक संस्थाले सरकारसँग सम्झौता गरी तीन वर्ष र अघि  पहिलो किस्ताको रु ५० हजार दिएको र अन्य किस्ताका लागि समन्वय नगर्दा अहिले ऋण गरेर निर्माणलाई निरन्तरता दिनुपरेको बताउनुभयो ।

बजेट अभावले बस्ती निर्माणमा समस्या देखिएप्छि संवाद समूह काभ्रेपलाञ्चोकले यसबारे छलफल गरेको थियो । बस्ती निर्माणका लागि स्थानीयवासी ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार खर्चिएको छ । स्थानीय अगुवा रामबहादुर तामाङले सरकारबाट प्राप्त हुने आवास निर्माणका रकम आएपछि तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्तीको परिकल्पना गरिएको बताउनुभयो ।

“तर एक संस्थाले पहिलो किस्ता दिएर लथालिङग छाडेर हिँड्यो, तर पनि हामी अब सरकारबाट बाँकी किस्ता नआउन्जेल ऋण गरेर काम सुचारु गरेका छौँ” उहाँले भन्नुभयो । उहाँका अनुसार हाल रु ६५ लाख ऋण भइसकेको छ । लामाले भन्नुभयो “बजेट आएलगत्तै ऋण तिर्दै जानेछौँ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका परामर्शदाता राजकुमार कुँवरले तीनधाराका भूकम्पपीडितका लागि बाँकी दुई किस्ता सरकारमार्फत दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यही माघ महिनाभित्र दोस्रो किस्ताबापत प्रतिपरिवार रु एक लाख ५० हजार आउने जानकारी दिनुभयो । भूकम्पपीडित परिवारको थप किस्तासँगै नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने रु एक करोड २० लाख बजेट बिनियोजन गरेको छ । “विनियोजित रकम सम्झौताअनुसार आउने क्रममै छ” उहाँले भन्नुभयो ।

कारितास् नेपालका कार्यक्रम शाखाप्रमुख मणिन्द्र मल्लले भन्नुभयो, “स्थानीय भूकम्पपीडितलाई दोस्रो किस्ता दिने बेला परियोजनाको अवधि पनि सकिएकाले पुनःनिर्माण प्राधिकरणमा रितपूर्वक कागजात पेश गरेको दाबी गर्नुभयो ”। काभ्रेको मण्डनदेउपुर नपा–१० स्थित चण्डेनी तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबर्दन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । यसका लागि ह्याविट्याट फर ह्युम्यानिटिक नामक संस्थाले प्राविधिक सहयोग गरेको छ । हाल बस्तीका लागि छ घरको छानो लगाउने काम सकिएको छ भने चार घर छाउने तयारीमा छ । तीनकोठे एक तले एकै डिजाइनका एक घर निर्माण सम्पन्न गर्न रु ११ लाख लाग्ने बस्ती निर्माण समितिका अध्यक्ष आइतमान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर कार्यालयले रु १० लाख थप सहयोग उपलब्ध गराएको छ । “घर निर्माणको लागि आवश्यक ब्लक यही नै निर्माण गरिरहेका छौँ” उहाँले भन्नुभयो, “बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्नेछ । नमूना बस्तीमा एक सामुदायिक भवन निर्माण गर्ने योजना छ । सामुदायिक भवन निर्माणका लागि रु ४० लाख छुट्याइएको छ । सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिँकी, डम्फु, ढ्याङग्रोलगायतका सामग्री सङ्ग्रहित गरिने तथा यसबारे जानकारीसमेत दिइने उहाँले बताउनुभयो ।

योजना अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । होम–स्टेमा आउने पाहुनाका लागि तामाङ समुदायको ‘टिपिकल’ खाना खुवाइनेछ । छ घरको एक ब्लक बनाइ पाँच ब्लकमा ३० वटा घर बनाइने भएको हो । नमूना बस्ती निर्माणलाई समयमै सम्पन्न गर्न नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र ह्याविट्याट फर ह्युम्यानिटीका स्वयंसेवक ल्याउने तयारी भइरहेको तामाङले बताउनुभयो । नमूना बस्तीका ३० घर निर्माण सम्पन्न गरेपछि सामुदायिक भवन र बगैँचा निर्माण गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology