• Saturday 1st of August 2026

ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकार बताउँछन् ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरपालिकाका सकारात्मक र भएमा नकारात्मक दुवै काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले लिएको स्मार्ट सिटी बनाउने योजनामा यसले निकै सहयोग गर्नेछ । महानगरपालिकालाई स्मार्ट सिटी बनाउन साइकल लेनका साथै पानी तथा हरियालीजन्य विभिन्न परियोजनामा समेत हामीले जोड दिइरहेका छौं ।”
कार्यक्रममा क्यापिटल आई प्रालिका कार्यकारी निर्देशक श्रीश कर्माचार्यले एप्सको ‘प्ले स्टोर’ अन गरी ‘एलएमसी सिटी पुलिस एप्स’ खुलेपछि त्यसमा उजूरीको शीर्षक र सूचनाको जानकारी लेखिने ठाउँमा आफ्ना समस्या लेखी तस्वीर हालिदिएर उजूरी गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिका कार्यालयमा जडान गरिएको कम्प्युटरमा उजूरी आउँछ । यसैका आधारमा राम्रो काममा तारिफ र नराम्रोमा दण्ड दिन सकिन्छ । एप्समा आएको सूचना भने गोप्य रहन्छ ।” नगर प्रहरी प्रमुख सीताराम हाछेथुले एप्समा जुनसुकै जानकारी आइसकेपछि आफूहरु त्यस स्थानमा पुगी तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology