• Saturday 1st of August 2026

निर्वाचन समाचार : हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम


  • गोकर्णेश्वर अनलाइन

जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ ।” विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । कार्यक्रममा २०० भन्दाबढी विद्यार्थी सहभागी रहेका छन् । निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका छ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

गुल्मीमा दुई लाख १२ हजार मतदाता

तम्घास– गुल्मीमा कूल दुई लाख १२ हजार २४९ मतदाता रहेका छन् । यसभन्दा अगाडि विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन । सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिनुभयो ।

विसं २०७४ मा एक लाख ९६ हजार ३४२ मतदाता रहेकामा एक लाख एक हजार ६६१ जना महिला, ९४ हजार ६८० पुरुष तथा एक जना यौनिक तथा अल्प सङ्ख्यक थिए भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ४२५ मतदाता थिए भने क्षेत्र नं २ मा ९० हजार ९१७ मतदाता रहेका थिए । जिल्लामा निर्वाचनका लागि १२ वटा नयाँ मतदानस्थल थप गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन÷तीन वटा, चन्द्रकोट र सत्यवतीमा दुई÷दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक÷एक वटा केन्द्र थप गर्न सिफारिस गरिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

यसभन्दा अगाडि १३८ मतदानस्थल रहेकामा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कूल मतदानस्थलको सङ्ख्या १५० हुनेछ । निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकालाई आगामी निर्वाचनका लागि मतदाताका रुपमा योग्य ठहर गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology