• Sunday 26th of July 2026

सुर्खेतमा रु एक अर्ब ३६ करोड कारोवारमा तेब्बरले निर्यात


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७/७८ को छ महिनामा तरकारी तथा फलफूलमा रु एक अर्ब ३६ करोडको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा रु एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोवार भएको पाइएको हो । मुलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैँची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोवारलाई पहिलोपटक तथ्याङ्कमा निकालिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

“हामीले सुर्खेत जिल्लामा पहिलोपटक लिएको फलफूल र तरकारी बालीवस्तुको आर्थिक कारोवार हो”, निर्देशक रोकायले भन्नुभयो, “उत्पादित बालीवस्तुबाट भएको आन्तरिक तथा बाह्य कारोवार कति भएको छ भन्ने कुरा यो प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।” उहाँले भन्नुभयो, “सुर्खेत राजधानी भएर कर्णालीका अन्य जिल्लाबाट आएको तरकारी तथा फलफूलको कुरा हुनसक्छ, निर्यात कारोवार तेब्बरले भएको देखिन्छ ।”

उहाँका अनुसार सुर्खेत जिल्लाभित्र भएको ५३ हजार ५५३ क्विन्टलबाट रु २३ करोड १४ लाख २३ हजार ४०० कारोवार भएको छ भने सुर्खेतबाट बाहिर निर्यात दुई लाख २५ हजार ५८९ क्विन्टलमा रु ८० करोड ५३ लाख ६९ हजार २०० कारोवार भएको छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले यसको प्रशोधन गरिने निर्देशक रोकायको भनाइ छ ।

निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टलबाट रु छ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टलबाट रु छ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टलबाट रु पाँच करोड ९१ लाख ६१ हजार ६०० आन्तरिक कारोवार भएको बताउनुभयो ।

“कारोवार भएका तरकारी तथा फलफूल बालीमा आयातभन्दा कर्णालीले उत्पादन गरेका फलफूल र तरकारी बालीवस्तु नै छन्”, अर्थविज्ञ थापाले भन्नुभयो, “उत्पादित बालीवस्तुबाट भएको कारोवारमा कर्णालीले कति निर्यात र आयात गर्दोरहेछ भन्ने कुराको निक्र्योल गरिनेछ ।” पहिलोपटक लिएका तथ्याङ्कको प्रमाणीकरण गरिने उहाँले बताउनुभयो ।

त्यसैगरी निर्यातित वर्षे तरकारी एक लाख ६६ हजार ४६१ क्विन्टलबाट रु ५३ करोड २६ लाख ७५ हजार २००, हिउँदे आलु २७ हजार ६७५ क्विन्टलबाट रु १२ करोड ७३ लाख पाँच हजार, हिउँदे तरकारी १७ हजार ५४८ क्विन्टलबाट रु पाँच करोड २६ लाख ४४ हजार र सुन्तला पाँच हजार ८५६ क्विन्टलबाट रु तीन करोड ८० लाख ६४ हजार बाह्य कारोवार भएको अर्थविज्ञ थापाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology