• Sunday 26th of July 2026

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत


  • गोकर्णेश्वर अनलाइन

हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । शुक्रबार आयोजना गरिएको आठौँ नगरसभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्वीकृत गरेकामा चालुतर्फ विनियोजन भएको रु पाँच करोड ४२ लाख ५३ हजार ६६० मध्ये रु दुई करोड ९० लाख ६६ हजार ८२२ तथा पूँजीगततर्फ रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन भएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको हो ।

गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पूँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिनुभएको छ । शिक्षा शाखाका लागि रु १९ करोड ९५ लाख विनियोजन भएकामा रु सात करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि रु ५२ लाख विनियोजन भएकामा रु एक लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि रु पाँच करोड ७१ लाख विनियोजन भएकामा रु दुई करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि रु १७ करोड ८१ लाख ६० हजार ९९० विनियोजन गरिएकामा रु पाँच करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको रु २० लाख विनियोजन गरिएकामा रु पाँच लाख ९४ हजार ६९० खर्च भएको छ ।

नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत आठ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइसहित संशोधन गरेको छ । रु तीन लाख ५० हजार विनियोजन गरिएको कालिका–देवीथान–धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ ।

रु एक लाख विनियोजन गरिएको ताराखसे–गैरीगाउँ–आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगरसभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गर्नुभएको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगरप्रमुख इवन राईले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई पारित गरेको छ ।

एघार वडा रहेको उक्त नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँटतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आवको रु साढे पाँच करोड बढी रकम खर्च गरेको छ । नगरपालिकाको आठौँ हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्नेक्रममा सङ्घ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँटतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न रु पाँच करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिनुभयो ।

कोभिड–१९ को कारण देखाउँदै सङ्घ र प्रदेशबाट सिलिङअनुसारको बजेट नआउँदा आव २०७६÷०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र सङ्घबाट सिलिङअनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि रु पाँच करोड ५९ लाख ८९ हजार विनियोजन गरेको थियो ।

विनियोजन भएका बजेटमध्ये हालसम्म रु तीन करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र रु एक करोड ८३ लाख ७२ हजारमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ ।

गत आव सिलिङअनुसारको बजेट नआउँदा अधुरो रहेका वडा नं १ बाहुनीडाँडाका आठ वटा, वडा नं २ डिकुवाका १२ वटा, वडा नं ३ च्यास्मिटारका सात वटा, वडा नं ४ बडहरेका ५ वटा, वडा नं ५ दुर्छिमका चार वटा र वडा नं ६ मङ्गलटारका १० वटा योजनालाई चालु आवको बजेटबाट पूरा गरिएको बताउनुभयो । यस्तै, वडा नं ७ महादेवस्थानका सात वटा, वडा नं ८ धितुङका नौ वटा, वडा नं ९ सल्लेका चार वटा, वडा नं १० अर्खौैलेका छ वटा र वडा नं ११ राजापानीका चार वटा योजनालाई चालु आव बजेट विनियोजन गरेर पूरा गर्नुपरेको जानकारी दिइएको छ ।

बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगरप्रमुख राईले बताउनुभयो । “हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण ग¥यौँ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ”, उहाँले भन्नुभयो, “तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology