• Wednesday 29th of July 2026

राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, २६ फागुन (रासस–एएफपी) –– अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।

भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रुपमा लिइएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लाग्नु भएको बताउनुभयो ।

चीनसँगको बढ्दो तनाबकै बीच “क्वीड” का नामले चिनिने इन्डो–प्यासिफिकका प्रमुख मुलुकहरुबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोज्नु भएको विश्वास व्यक्त गर्नुभयो ।

“यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,” प्रधानमन्त्री मरिसनले संवाददातहरुसँग भन्नुभयो ।

प्रेस सचिव साकी र भारत दुबैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गर्नु भएको थियो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरुले क्षेत्रीय र विश्व मामिलाका केही प्रमुख विषयहरुमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो–प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रहरुका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।”

जापानी प्रधानमन्त्री योशिहिदे सुगा समेत सहभागी हुनुहुने यस बैठकमा सामुद्रिक सुरक्षा प्रबद्र्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड–१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ ।

जापानी प्रधानमन्त्री सुगाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलग्गै टेलिफोन सम्वाद गर्नु भएको थियो । उहाँहरुबीच पूर्वी तथा दक्षिण चीन सागरका सम्बन्धमा यसअघिका समझदारीलाई चीनले उल्ट्याउन खोजेको विषयमा कुराकानी भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले संवाददाताहरुसँग कुरा गर्दै विश्वका जल्दाबल्दा समस्या सुल्झाउन क्वीड गठबन्धन सक्षम रहेको बताउनु भएको छ । गत फेब्रुअरी १८ मा क्वीड गठबन्धन मुलुकका विदेश मन्त्रीहरुको बैठकले म्यान्मारमा सेनाले सत्ता लिएकामा आपत्ति जनाएको थियो ।

बैठकमा अमेरिकी अधिकारीहरुले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो ।

तर, क्वीडका विदेश मन्त्रीहरुले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् ।

सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्वीड स्थापना गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology