• Saturday 25th of July 2026

भरतपुर महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १२३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो । हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको उहाँले बताउनुभयो । “गत कात्तिकमा विद्यालयलाई पत्राचार गरी प्रतिनिधि तोक्न लगाई उनीहरूलाई प्रशिक्षण दिइएको छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिका रूपमा आएका शिक्षकले लैङ्गिक हिंसाका बारेमा जानकारी लिई त्यस विषयमा शिक्षक तथा विद्यार्थीलाई जानकारी गराउने र यसको निराकरणका लागि सहयोग पुर्याउने काम गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पनि लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि समुदायसँगै विद्यालयमा यस्ता घटना घट्न नदिनका लागि शिक्षक तोकिएको हो ।”

विद्यालयमा हरेक किसिमका हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक शिक्षक राखिएको उहाँको भनाइ थियो । केही विद्यालयले लैङ्गिक शिक्षक नराखे पनि पुनः पत्राचार गरेर ध्यानाकर्षण गराउने काम गरिएको उहाँको भनाइ छ ।

भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषि शर्माले विद्यालयमा छात्रामाथि हुने अभद्र व्यवहारका घटना हुन नदिन नै लैङ्गिक शिक्षक राख्ने प्रणाली बसालिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा महिला शिक्षकलाई लैङ्गिक शिक्षक बनाउन निर्देशन दिइएको छ भने हिंसासँग सम्बन्धित तालिम प्रदान गरिएको छ ।

छात्रामाथि अपशब्द बोल्ने, गलत नियतले छात्रालाई छुने वा छुने प्रयास गर्ने, छात्राको नाम कुनै छात्र या अन्यसँग जोडेर जिस्काउने, खराब नजरले हेर्ने, गलत नियतले मोबाइलमा सन्देश पठाउने, बेञ्च वा भित्तामा एकअर्काको नाम जोडेर लेख्ने, कुदृष्टि राख्ने, अश्लील शब्दले बोलाउनेजस्ता क्रियाकलाप विद्यालयमा हुने हिंसा वा अभद्र व्यवहारभित्र पर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology