• Friday 31st of July 2026

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण


  • गोकर्णेश्वर अनलाइन

पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया परेका स्थानीय बासिन्दालाई प्रतिघर रु १० हजारका साथै अस्थायी बासस्थानका लागि पाल, त्रिपालसहितका सामग्री वितरण गर्नुभएको हो ।

मन्त्री लम्सालले गर्मी बढिरहेको तथा हुरी, बतास चल्न शुरु भएको यस समयमा विगत केही दिनदेखि प्रदेशका केही वनजङ्गलमा डढेलो तीव्ररुपमा फैलिएकाले सजग हुन आग्रह गर्नुभयो । खडेरीको मौसममा वन डढेलो लागि बस्तीमा आगो फैलिन पुगी जनधनको क्षति हुनुका साथै वन पैदावार, वन्यजन्तु तथा पक्षीसमेतलाई हानिनोक्सानी पु-याई समग्र वातावरणमा नकारात्मक असर पर्ने भन्दै सुक्खायाम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँ वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षणतर्फ अग्रसर हुन स्थानीयवासीलाई अनुरोधसमेत गर्नुभयो । उहाँले आफ्नो घर वरिपरि तथा वनजङ्गलमा आगलागी हुन नदिन स्थानीयवासी नै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबार दिउँसो साढे २ बजे जङ्गलमा लागेको डढेलो डाँडाकाहुँको बस्तीमा पस्दा पाँच घर र १५ गोठ जलेर पूर्ण क्षति पुगेको थियो । स्थानीय शेरबहादुर गौतम, नमप्रसाद सापकोटा, रेशमलाल गौतम, रेशमलाल सापकोटा र जयकला सापकोटाका घर जलेका हुन् । स्थानीय खड्कप्रसाद गौतम, एकनारायण गौतम, चोलाकान्त सापकोटा, छविलाल गौतम, उमेश गौतमको घरमासमेत आगलागीले क्षति पु-याएको छ । पन्ध्र गोठ जलेको र भैँसी, गोरु र बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । घरमा भएका महत्वपूर्ण कागजात, पैसा, लत्ताकपडा, खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएको छ ।

यसअघि स्थानीय पैँयु गाउँपालिकाले जनही रु १० हजार, खाद्यान्न, लत्ताकपडा र त्रिपालसमेत वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । आगलागीबाट पाँच घर पूर्ण विस्थापित हुनुका साथै अन्य पाँच घरमा आंशिक क्षति पुगेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology