• Friday 31st of July 2026

डढेलोले २५ हेक्टर जङ्गल नोक्सान


  • गोकर्णेश्वर अनलाइन

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु-याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वनजङ्गल डढेलोको चपेटामा परेका छन् ।

शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयाममा हावाको निरन्तरता, बढी मात्रामा भिरपाखोजस्ता समस्याले डढेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग्निरेखा तथा फायर फाइटिङका माध्यमबाट ठूलो नोक्सानी न्यूनीकरण गर्न समस्या भए पनि निकुञ्ज प्रशासन निभाउन प्रयासरत रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ । छयालीस प्रकारका स्तनधारी जनावर र २५० प्रजातिका पक्षी भएको निकुञ्ज जङ्गलमा डढेलोको असरले केकति नोक्सान भएको भन्नेबारे लेखाजोखा भने हुन सकेको छैन ।

सलाई, लाइटरजस्ता आगोसँग सम्बन्धित वस्तु सुरक्षित राख्न र चुरोट तथा तमाखुजस्ता धूमपान गरेका आगोको ठुटा जथाभावी नफ्याँक्न बारम्बार चेतनामूलक सन्देश प्रवाह भइरहे पनि जङ्गलमा डढेलो लगाउने बानी आजै हट्न नसक्दा वर्षेनी ठूलो मात्रामा वनजङ्गल नोक्सान हुँदै आएको छ ।

डढेलो लगाउने समस्या पुरानो रोग भए पनि यस्ता समस्या न्यूनीकरण गराउने कार्यमा भने कसूरदारलाई कारवाहीमा ल्याउन सकिएको छैन । निकुञ्जका अलावा वन कार्यालय र सामुदायिक वन क्षेत्रका भूभागमा डढेलो लगाउने व्यक्ति खोज्न नसक्दा वर्षेनी यस्ता समस्याले विकराल रूप लिन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

सुरक्षासँग सम्बन्धित निकायको अनुसन्धानबाट हरेक कुनाकुनाका घटना पत्ता लगाई कानूनी दायरामा ल्याउने गरिए तापनि डढेलो लगाउने व्यक्तिको पहिचान गर्ने संयन्त्र वनसँग सम्बन्धित निकायमा नदेखिएकाले अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आग्रह गर्नुपर्ने अवस्था आएको बुद्धिजीवीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology