• Friday 31st of July 2026

सेतो मच्छेन्द्रनाथको पाँच दिने जात्रा सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ ।लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमिदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरुआत हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइन्छ । जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौँथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काई शनिबार रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुन : रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।

यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले जानकारी दिनुभयो । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ पाँच दिने जात्रा सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो । जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । यसले गर्दा रथयात्रा सुरक्षितरुपमा सम्पन्न गर्न सकिएको हो ।

यही वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक एवम् महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने गरी व्यवस्था मिलाइएको थियो । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको पनि समितिले जनाएको छ । यसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology