• Saturday 25th of July 2026

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त


  • गोकर्णेश्वर अनलाइन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिनुभयो । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

“छनोट समितिले आवेदकले प्रस्तुत गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहितको आधारमा नाम सिफारिश गरेको हो”, उपकुलपति सिंहले भन्नुभयो, “समितिको सिफारिशलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन ग¥यो ।” नियुक्त गर्ने अधिकार उपकुलपतिलाई भए पनि आफूले सक्षम व्यक्तिलाई अवसर दिन खुला र पारदर्शी नियुक्ति प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो । परिषद्को बैठक यही वैशाख १८ गते बसेको थियो ।

विश्वविद्यालयले व्यवस्थापन सङ्काय डीनमा प्रा डा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीनमा सहप्राध्यापक डा लीलाधर तिवारी, विज्ञान तथा प्रविधि सङ्काय डीनमा डा सुदीप ठकुरी र कृषि तथा वन विज्ञान सङ्काय डीनमा डा विमलकुमार कर्णलाई नियुक्त गरेको छ ।

त्यस्तै योजना विकास अनुगमन निर्देशनालय निर्देशकमा प्रा डा चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालय निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालय निर्देशकमा प्रा डा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा डा सुधन झा नियुक्त हुनुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका नौ आङ्गिक क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाका प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमका प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीका प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी विद्यापुरका प्रमुखमा तीर्थबहादुर शाही नियुक्त हुनुभएको छ ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखका प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुका प्रमुखमा सुशीलकुमार भाम नियुक्त हुनुभएको छ ।

नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालय प्रशासनको तयारी छ । विश्वविद्यालयले यसअघि खुला प्रतिष्पर्धाबाट रजिष्ट्रार नियुक्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology