• Thursday 30th of July 2026

थोराङ्ला पासबाट ल्याएर खाद्यान्न अभाव टार्दै


  • गोकर्णेश्वर अनलाइन

मनसुनको शुरुआतमा नै हिमाली जिल्ला मनाङ विपद्को चपेटामा परेको छ । हिउँदमा हिमपातले समस्या हुने मनाङमा यसपटक वर्षायाममा पनि सङ्कट झेल्नुपरेको छ । हिउँद् ताका बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आवतजावत अवरुद्ध हुने जस्ता समस्या भोग्दै आएको थियो ।
पछिल्लो केही दिन वर्षा रोकिंदा थोरै भए पनि राहतको सास फेर्न पाए पनि कुन बेला नदीको बहाव बढेर आउने हो भन्ने त्रासमा मनाङवासी बस्न बाध्य भएका छन् । बाढी पहिराले विपद्मा परेका मनाङवासीलाई खाद्यान्न अभाव पूर्ति गर्नका लागि थोराङ्ला पास गराएर ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार केही मात्रामा खाद्यान्न भण्डारमा रहे पनि अभाव हुन नदिन खाद्यान्न ल्याउने प्रबन्ध मिलाइएको हो ।
सदरमुकामस्थित चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले मनाङवासीले यो वर्ष ठूलो विपद् भोग्नुपर्दा आत्तिएको बताउनुभयो । “हिमाली जिल्ला मनाङ यो पटक ठूलो प्राकृतिक विपदमा परेको छ, पहिलो पटक यति ठूलो प्राकृतिक विपद भोग्नुपरेको छ,” घलेले भन्नुभयो । मनसुनको शुरुआतमै धेरै क्षति भोग्नु परेको र मनसुन अझै बाँकी रहेकाले थप क्षति भोग्नुपर्छ भन्ने चिन्ता बढेको उहाँ बताउनुहुन्छ ।
यस जिल्लाले पहिलोपटक प्राकृृृतिक विपद्बाट सयौंँ घर, पक्की तथा काठे पुल, सडक बगाएको छ । बाढीले मस्र्याङ्दी नदी किनारका धेरै घर डुबानमा परेका छन् । धेरै भौतिक संरचना कटानले क्षति पुगेका छन् । सरकारी कार्यालयदेखि स्थानीयवासीलाई यो पटक बाढीपहिराले उठिवास लगाएको छ । पुलपुलेसा समेत बढ्दा गाउँगाउँबीचको आवतजावत विच्छेद भएको छ ।
“वर्षा रोकिदा मस्र्याङ्दीको बहाव केही घटेको त छ, तर जोखिम र त्रास कम भएको छैन,” घलेले भन्नुभयो, “पानी नपर्दा ढुक्कले निदाउन पाइन्छ, पानी परेपछि रातभर जाग्राम बस्नुको विकल्प नै छैन ।” मनाङ विकट जिल्ला हुनु पनि दुर्भाग्य जस्तो लागिरहेको उहाँ बताउनुहुन्छ । मौसम धेरै खराब बनेको छ, उद्दारका लागि हेलिकप्टर पनि पुग्न सकस रहेको उहाँले बताउनुभयो ।
जिल्लाका गाउँ गाउँमा राहतका सामग्री पु-याउन मुस्किल भएको उहाँले बताउनुभयो । स्थलमार्ग पहिराले पूर्णरुपमा बन्द भएपछि हेलिकप्टरबाट ढुवानी गर्नु पर्ने बाध्यता छ, तर मौसम खराबीले हेलिकप्टरमार्फत् सहयोग गर्न समेत सक्ने अवस्था नरहेको घलेले बताउनुभयो । “मौसम खराब र पानी पर्दा मनाङवासीको निद्रा हराएको छ,” उहाँले भन्नुभयो ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यसपटक हिमाली जिल्ला मनाङले प्राकृतिक विपद्बाट खेप्नु परेको बताउनुभयो । “हिमाली जिल्लामा प्राकृतिक प्रकोपको दुःख हामीले पहिलोपटक भोगेका छौंँ, अझै सिङ्गो मनसुन बाँकी छ, ढुक्क भएर बस्ने अवस्था नै छैन, वर्षा भइरहेकाले नदीमा जतिबेला पनि बाढी पहिरो आउन सक्छ,” घलेले भन्नुभयो ।
मस्र्याङ्दीको सतह कम्तिमा चार÷पाँच फिट माथि आएको उहाँले बताउनुभयो । “कटान रोक्नका लागि नदीको दायाँबायाँ लगाइएका ग्याभिन पुरिएका छन्, नदीको बहावको सतह नै उकासिएको छ, नदीको भेल बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा, माटो, बालुवा थुप्रिएर सतह नै माथि आएको छ, यस्तो विपद् पहिलो पटक अनुभव गरेका छौं,” उहाँले भन्नुभयो ।
मनाङमा धेरै बस्तीहरु मस्र्याङ्दी किनारमा रहेका छन् । मनाङमा असारको शुरुआतमै बाढी पहिराले मस्र्याङ्दी नदी किनारका बस्ती उजाड र बगर बनेको छ । नदी कटानबाट विस्थापित भएका मनाङवासी अझै घर फर्किन सक्ने अवस्था छैन । बाढीको त्रास कायम रहेकाले विस्थापितलाई तत्काल घर फर्काउने अवस्था नरहेको प्रजिअ लामिछानेले बताउनुभयो ।
सदरमुकाम चामेदेखि तलको बस्ती झनै बढी जोखिममा छ । माथिल्लो मनाङको पिसाङ, हुम्डे पनि जोखिमपूर्ण अवस्थाका रहेको लामिछानेले बताउनुभयो । उहाँका अनुसार चामेदेखि धारापानीसम्म साँघुरो खोलाको किनारमा बस्ती बसेको र त्यही क्षेत्रमा बढी पहिरा झरेकोले पनि जोखिम बढेको छ । ‘‘कुन बस्तीमा कतिखेर बाढीले पस्ने हो भन्ने त्रासमा मनाङवासी चिन्तित छ,” उहाँले भन्नुभयो । बाढी पहिरा कम नभएमा मनाङको बस्तीहरु पूर्ण रुपमा विस्तापित हुनुपर्ने अवस्था आउन सक्ने लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार पानी परिरहेको छ, माटो गल्दै गएकोले माथिल्लो भेगमा रहेका माटोका घर समेत जोखिममा छन् । मनाङ र नार फू गाउँका धेरैजसो घर माटोको छानाका छन् । अधिक पानीले ती छाना कमजोर हुने र चुहिने, भत्कन सक्ने भएकाले त्रास बढेको उहाँले बताउनुभयो । “मनाङले यसअघि भोग्ने गरेको प्राकृतिक विपद् हिमपात थियो, अधिक हिमपात हुँदा आवतजावत अवरुद्ध हुने र चिसो बढ्दा समस्या पर्ने भएपनि भौतिक क्षति भोग्नु पर्दैनथ्यो, तर, यस पटक बाढी पहिराले भौतिक क्षति नै अधिक भएको छ,” उहाँले भन्नुभयो, “हिमपातसँग त यहाँका नागरिक अभ्यस्त नै छन्, तर, बाढीपहिराले अत्याएको मैले पनि पहिलोपटक थाहा पाएको छु, विगतमा पनि केही ठाउँमा सुख्खा पहिरो झरेको तथ्याङ्क थियो, बाढी पहिराले नै आएपछि चिन्तित बनाएको छ ।”
बाढीको त्रासले सदरमुकाम चामे, पिसाङ, नासोका बासिन्दा अझै घरमा आरामले सुत्न सकेका छैनन् । “बजारवासी रात परेपछि सुरक्षित ठाउँमा उक्लिएर बस्नुहुन्छ, घरमा सुत्न सक्ने अवस्था छैन, केही दिन परेको वर्षाले यति असर गरेको छ, अझै के के हुने हो भन्न सक्ने छैन, यस पटकको प्राकृतिक प्रकोपबाट मनाङवासी आत्तिएको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology