• Monday 27th of July 2026

लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

: आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजश्व सङ्कलनको लक्ष्य भेट्टाउन सकेन । राजश्व सङ्कलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो ।

गत आवमा रु चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजश्व उठाउने लक्ष्य लिइएकामा रु चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार सङ्कलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार ९७ दशमलव एक प्रतिशत राजश्व जम्मा भएको छ ।

उक्त कार्यालय आव २०७६÷७७ को तुलनामा भने राजश्व सङ्कलनको लक्ष्य नजीक पुगेको छ । सो आवमा रु पाँच अर्ब ६१ करोड ६७ लाख राजश्व उठाउने लक्ष्य रहेकामा रु चार अर्ब तीन करोड ११ लाख मात्र सङ्कलन भएको थियो । जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजश्व सङ्कलन सन्तोषजन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजश्वको शत्प्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भयौँ । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको हो ।”

आव २०७७÷७८ मा आयकरतर्फ रु दुई अर्ब ८५ करोड राजश्व सङ्कलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । रु दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट रु १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट रु २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट रु पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट रु १२ लाख २२ हजार र शिक्षा करबाट रु चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

तीस हजार ८०० करदाता थपिए

उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६÷७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology