• Thursday 30th of July 2026

बाँकेका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित


  • गोकर्णेश्वर अनलाइन

बाँके, ४ साउन (रासस): कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लाग्नुभएको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई जिविकोपार्जन गर्न सहज भएको छ । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उहाँको भनाइ छ । यसैगरी धवलागिरिकै रमा दराईले दुईवटा बङ्गुर पाल्नुभएको छ । खोर सानो हुँदा र आर्थिक स्थिति बलियो नहुँदा उहाँले बङ्गुर थप गर्न सक्नुभएको छैन् ।

सानैबाट शुरुआत गरे पनि बङ्गुरपालनबाट राम्रै आम्दानी हुने देखिएपछि उहाँको रुचि पनि यसतर्फ बढेको छ । थापा र दराई जस्तै धवलागिरिका १७ महिला किसानले सानो रुपमा भएपनि बङ्गुरपालन गरिरहेका छन् । बङ्गुरपालन व्यवासयमा लागेका १७ जना महिलाको एउटा समूह पनि छ । समूहमार्फत उनीहरुले मासिक रु १०० बचत पनि गर्दै आएका छन् । सो समूहमा आवद्ध प्रत्येक सदस्यलाई खजुरा गाउँपालिका पशुसेवा शाखाले पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

छ महिनाअघि तत्कालिन पशु सेवा शाखा प्रमुख स्व रत्नबहादुर शाहीले उक्त समूहलाई बङ्गुरको स्रोत केन्द्रका रुपमा विकास गर्न हरेक सदस्यलाई बङ्गुरको पाठापाठी वितरण गर्नुभएको थियो । ६ महिनाअघि वितरण गरिएको सात÷आठ किलोग्रामको पाठापाठी अहिले ५०÷६० किलोग्रामका भएका छन् ।

शाखाबाट बङ्गुरपालनसम्बन्धी तालीमसहित बङ्गुरका पाठापाठी पाउँदा हौसला बढेको समूहका सदस्य चिट्टीमाया थापाले बताउनुभयो । अनुदानमा एउटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाखसम्म आम्दानी लिन सकिने थापाको भनाइ छ । समूहका अध्यक्ष छमी घर्तिमगरले पनि दुईवटा बङ्गुरपालन गर्नुभएको छ समूहका सदस्यलाई बङ्गुरपालन गरिरहन अनुरोध गर्नुभयो । अध्यक्ष घर्तिमगरले घरमा त्यतिकै बसेर समय विताइरहेका महिला अहिले बङ्गुरपालन गरेर राम्रो आम्दानी लिने हैसियतमा पुगेको बताउनुभयो । समूहका सदस्यमध्ये कोही पहिलेदेखि बङ्गुरपालन गर्दै आएका छन् भने कोही नयाँ रहेका छन् । आर्थिक स्थिति बलियो नहुँदा प्रगति बङ्गुरपालन समूहका महिला किसानले धेरै बङ्गुरपालन गर्न आँट गर्न सकिरहेका छैनन् ।

बङ्गुरपालनबाटै आफ्नो र परिवारको आर्थिक आम्दानीको स्रोत बढाउने योजना उनीहरुको छ । १२ वटा बङ्गुर पाल्दै आएका लक्ष्मी थापाले बङ्गुरपालन व्यवसायका लागि समूहलाई थप सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गर्नुभयो । बङ्गुरको बजार राम्रो भएकाले समूहमार्फत पालन गरेका महिला किसानहरु थप आकर्षित भएका हुन् । बङ्गुरको स्रोत केन्द्रका रुपमा स्थापित हुन अब धेरै समय नलाग्ने समूहका अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा उहाँको छ । विस्तारै विस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा सदस्याहरु रहेको उहाँको भनाइ छ । स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ ।

बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको उहाँको भनाइ छ ।

अध्यक्ष कक्षपतिले किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले हरेक वर्ष प्रभावकारी कार्यक्रम ल्याएको बताउनुभयो । बङ्गुरपालन गर्ने किसानका लागि पनि आगामी वर्षमा थप कार्यक्रम ल्याउने योजनामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानले इमानदारिताका साथ व्यवसाय गर्ने हो भने खजुरा कृषिको क्षेत्रमा एक वर्षभित्रै पूर्ण रुपमा आत्मनिर्भर हुन्छ ।” अध्यक्ष कक्षपतिले केही राम्रो काम गर्ने गरी योजना माग भई आएको खण्डमा निर्धक्क रुपमा पालिकाले सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology