• Thursday 30th of July 2026

सायल गाउँपालिकामा व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु


  • गोकर्णेश्वर अनलाइन

डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाख लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय शुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका कम्तीमा पनि एक हजार ५०० भुरा ल्याएर पोखरीमा हाली माछापालन शुरु गरिएको छ । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण ट्राउट माछाका भुरा ल्याउन केही समय ढिलाइ भए पनि अहिले निषेधाज्ञा खुकुलो भएसँगै पोखराबाट माछाका भुरा ल्याई पोखरीमा राखिएको माछापालक किसान खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “निषेधाज्ञाले माछाका भुरा ल्याउन सकिएको थिएन, अहिले खुकुलो भएपछि ल्याएका छौँ ।”

जिल्ला भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीको टोलीले गरेको प्रारम्भिक अध्ययनले सो ठाउँ ट्राउट माछापालन र भुरा उत्पादनका निम्ति उपयुक्त रहेको निष्कर्ष निकालेपछि पहिलोपटक व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष विष्णा सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवाको अगुवाइमा व्यावसयिकरूपमा माछापालन गर्नका लागि विसं २०७२ देखि सायल क्षेत्रमा ट्राउट माछापालनको सम्भाव्यता अध्ययन गरिएको थियो । ट्राउट माछापालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष थप रु छ लाख रकम विनियोजन गरेको बताइएको छ ।

चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने ट्राउटलाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाका रूपमा लिइन्छ । चिसोपानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुने प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ तर यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिगे्रड तापक्रम उपयुक्त मानिन्छ ।

नेपालमा रेन्बो ट्राउट पालन सन् १९८९ बाट शुरु भएको बताइएको छ । त्यसबखत जापान सरकारले ५० हजार माछाका भुरा उपहारस्वरुप नेपाल पठाएको थियो । नुवाकोटको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो । परीक्षण गरिएको ट्राउटको बिक्री वितरण सन् १९९७ मा पहिलोपटक गरिएको थियो । यसैगरी यसअघि जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा पनि उक्त माछापालन शुरु गरिएको थियो । स्थानीय युवा लीलाधर विष्टले रेन्बो ट्राउट माछापालन शुरु गर्नुभएको हो । उक्त माछाको बजार मूल्य प्रतिकिलो रु एक हजार ७०० पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार रेन्बो ट्राउट माछालाई दाना प्रायः हातैले दिइने गरिन्छ । दाना खाए÷नखाएको हेरेर दाना दिनु पर्दछ । दाना दिँदा माछा राखेको ट्याङ्कीको चारैतिर बराबर छरेर दिनु पर्दछ, जसले गर्दा सबै माछाले दाना खान पाउँछन् र सबैको एकनासले वृत्तिविकास हुन्छ । भुरा तथा हुर्काउला माछाको वृद्धि जाँच हरेक १५ दिनमा गर्नुपर्ने प्रावधान रहेको छ । माछा बढेको अनुपातमा दाना पनि बढाएर दिनु पर्दछ । माछाको मुखको साइजलाई दृष्टिगत गरी मिल्दो साइजको दाना खुवाउनुपर्ने माछा प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology