• Thursday 30th of July 2026

वर्षात्ले बिग्रिएका ग्रामीण सडक खुलाइँदै : स्थानीयवासीमा खुशीयाली


  • गोकर्णेश्वर अनलाइन

डोटी, २१ साउन (रासस) : गएको जेठ, असार र यही साउन महिनामा आएको वर्षात्का कारण बिग्रिएका जिल्लाका दर्जनौँ ग्रामीण सडकहरु सञ्चालन गरिन थालिएको छ ।

वर्षात्का कारण पहिरो आउँदा हिलाम्मे र ठाउँठाउँमा भत्किएर बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडकहरु सञ्चालन गरिन थालिएको हो । सडक सञ्चालनमा आउने भएपछि स्थानीयवासी निकै खुशी भएका छन् ।

गत जेठ, असार र साउन महिनामा आएको भारी वर्षाका कारण जिल्लाको मौवा, मेल्लेक, बिपीनगर–गड्सेरा, वाइल, कपल्लेकी, नापानी, जोरायल–गड्सेरा, मुडभारा–धुर्कोट, दिपायल–चवराचौतारा सडकका विभिन्न भागमा पहिरो आउँदा अवरुद्ध भएका थिए । यसैगरी कतिपय यहाँका सडक तीन महिनादेखि बन्द भएका थिए । वर्षात्का कारण बन्द भएका ग्रामीण सडक खुलाउन अहिले सम्बन्धित स्थानीय तहले डोजर प्रयोग गरी एकैसाथ सञ्चालन गराउन थालेको शिखर नगरपालिका–१ कपल्लेकीका वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाले कतिपय स्थानीय तहका सडक दुई÷तीन महिनादेखि बन्द थिए, अहिले वर्षा केही बन्द भएसँगै सञ्चालन गराउन थालिएको छ ।” जिल्लामा अन्य वर्षको तुलनामा यस वर्ष अत्यधिक वर्षा भएको बताइएको छ ।

शहरभन्दा पनि गाउँमा सडक बन्द भएकाले दैनिक उपभोग्य वस्तु खरिद, बिक्रीमा समस्या भएकाले यातायातका साधन सञ्चालनका लागि बन्द भएका सडकमा डोजर लगाएर बाटो खुलाउन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँका सडक बन्द भएकाले नागरिकलाई दैनिक उपभोग्य वस्तुका लागि सास्ती भएको थियो, नागरिकको सहजताका लागि भएपनि सडक खुलाउन थालेका छौँ ।” जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका दर्जनौँ ग्रामीण सडक वर्षेनी असार, साउनमा पानी पर्दा हिलाम्मे हुनुका साथै लिक बिग्रिएर सवारी साधन गुड्नसमेत बन्द हुँदै आएका छन् ।

यहाँका ग्रामीण सडकमा वर्षेनी वर्षात्शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् । विगतका समयमा गाउँपालिका, वडाकार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधारक्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरी खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको केआइसिंह–१ जमलकटियाका गणेश जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताको माग पूरा गर्न खनिएका सडक वर्षमा जम्मा छ÷सात महिना मात्रै चल्छन, अरु महिना त बन्द हुन्छन्, सडक स्तरोन्नति तथा सुधार गर्न कसैले पहल चालेका छैनन् ।” जथाभावी खनिएका यहाँका ग्रामीण सडकमा ग्रेड नमिल्ने, उकालो हुने, साँघुरो हुने तथा कटिङ नपुग्ने गरेको शैलेश्वरी यातायात प्रालिका गाडी चालक हिक्मत खत्रीको आरोप छ ।

यहाँका अधिकांश ग्रामीण (कच्ची सडक)हरुमा हिउँदको छ महिना मात्रै सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षात्शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुने, गाडी हाल्नेबित्तिकै दुर्घटना भइहाल्छ ।” यतिमात्र नभई यहाँका अधिकांश ग्रामीण सडकमा सवारी साधन चलाउन अति जोखिममा रहेका चालक बताउँछन् । बिनामापदण्डका यी ग्रामीण सडकमा ठूलठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology