• Monday 27th of July 2026

स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो


  • गोकर्णेश्वर अनलाइन

मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् रु आठ करोड दुई लाख पचास हजार बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताउनुभयो ।

बाँकी ३४ प्रतिशत अर्थात् रु २७ करोड २८ लाख पचास हजार रकम बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो ।

बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ । पहिलो चरणमा निष्काशन हुने रु आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी शेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनीका सञ्चालक नवीन महर्जनले बताउनुभयो । त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology