• Thursday 30th of July 2026

ग्रामीण सडक पुनःनिर्माण नहुँदा सास्ती


  • गोकर्णेश्वर अनलाइन

असारदेखि आएको निरन्तर वर्षाका कारण भत्किएका जिल्लाका पहाडी क्षेत्रका ग्रामीण सडक अझै पनि पुनःनिर्माण र सुधार हुन नसक्दा जनतालाई सास्ती हुँदै आएको छ । कोरोना सङ्क्रमण पुनःबढिरहेका बेला वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत सुधार नहुँदा पहाडी भेगका जनता गाउँसम्म पुग्न र अति आवश्यक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भइरहेको छ ।

असारको सुरुदेखि आएको वर्षाले ताप्ली गाउँपालिका, उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकासम्म जोड्ने ग्रामीण सडक कतिपय स्थानमा भत्किएका तथा पहिराले सडक पुरेको र अवरुद्ध भएका कारण अहिले उच्च जोखिम मोलेर सो क्षेत्रमा यातायात सञ्चालन गर्न बाध्य हुनुपरेको यातायात व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ ।

वर्षाले भत्काएको सडक समयमा नै पुनःनिर्माण तथा मर्मत नहुँदा अहिले सहज ढङगले यातायातका साधन सञ्चालन गर्न कठिन भएकाले पहाडी भेगका जनताले दैनिक उपभोग्य वस्तुसमेत ढुवानी गर्नु परेको लिम्चुङबुङ–४ जाँतेका कृष्ण बुढाथोकीको गुनासो छ ।

लिम्चुङबुङ–२ बराहका गजेन्द्र बराल भन्नुहुन्छ, “अढाइ महिनादेखि जिल्ला सदरमुकाम गाईघाट बजार, मुर्कुची बजारहुँदै हाम्रा गाउँघर जोड्ने सडक वर्षाका कारण धेरै स्थानमा भत्किएका र ठूलाठूूला खाल्डा परेकाले गाउँघरसम्म यातायात सेवा सञ्चालन गर्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न उच्च जोखिम छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology