• Saturday 25th of July 2026

कालीकोटका विद्यालय सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताउनुभयो । “विद्यालय सञ्चालन गर्न शिक्षकलाई कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ, कोभिड–१९ विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएअनुसार विद्यालय सञ्चालन गर्न लागिएको हो ।”

विद्यालय सञ्चालन गर्ने परिपत्र गाउँपालिकाको शिक्षा शाखाले गरिसकेको र स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै समयमै विद्यालय सञ्चालन गरिने जनप्रभात माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले बताउनुभयो । “विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिनेछ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई ज्वरो आयो वा कोभिड–१९ का लक्षण देखिएमा स्वास्थ्य कार्यालयले स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।”

गाउँपालिकाले सबै विद्यालय सञ्चालन गर्नाका साथै कक्षा १ देखि १२ सम्म अध्यापनको थालनी गरेको शिक्षा शाखाले जनाएको छ । त्यस्तै जिल्लाको पचालझरना गाउँपालिकाले जोरबिजोर कक्षा सञ्चालन गरेर विद्यालय सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका सबै विद्यालयमा जोर बारमा जोर कक्षा र बिजोर बारमा बिजोर कक्षाका विद्यार्थीलाई पढाउने गरेर विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर परेका कारणले विद्यालय जोरबिजोरका आधारमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर शाहीले जानकारी दिनुभयो । “विद्यार्थीको पढाइमा बाधा पुगेकाले कक्षा सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा नियमित अध्यापनको व्यवस्था गरेका हौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology