• Thursday 30th of July 2026

नेवार समुदायमा ‘गुन्हुपुन्ही’ मनाइँदै


  • गोकर्णेश्वर अनलाइन

भादगाउँ, भदौ ६ (रासस) : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।

यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरि गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

“खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भन्नुभयो । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ । नेवार समुदायले भने पञ्चतत्वसहितको डोरो बाँध्ने प्रचलन छ । यसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशत क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो ।

भ्यागुताको पूजा गरी भोजन खुवाउँदै

गुन्हुपुन्हीका अवसरमा आज नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको पूजा गरी भात र क्वाँती खुवाउँदैछन् । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पु-याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषक प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।

वर्षा गराउने दूत तथा खेतबारीको शत्रु किरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत–खेतमा गई किसानले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । यसलाई स्थानीय भाषामा ‘व्याँचा जाः नक वानेगु’ भनिन्छ ।

“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो । रोपाइँका समयमा कृषकले आ–आफ्नो खेत खन्दा मरेका किरा, फट्याङ्ग्रा र भ्यागुतालाई मारेको दोष निवारण गर्न र पापमोचन गर्नका लागि पनि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको उहाँको भनाइ छ

भक्तपुरका विभिन्न कुण्डमा मेला

यसै अवसरमा जिल्लाका विभिन्न गुण्डमा मेला लागेको छ । नगरकोटको महादेव पोखरी र भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्राचीन धल्चा पुखुः(कालदह)मा बिहानैदेखि भक्तजनले स्नान गरिरहेका छन् ।

गोसाइँकुण्डको प्रतीक मानिने नगरकोटको महादेव पोखरीमा स्थानीय तामाङ झाँक्रीहरुको विशेष मेला लाग्दछ । आजको दिन परम्परागत वेषभूषामा सजिएर डम्फु बजाउँदै नाच्दै पोखरीमा स्नान गर्ने प्रचलन रहेको बताइएको छ । आज कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुहरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले जानकारी दिनुभयो ।

लोककथनअनुसार महादेवले कालकुट विष सेवन गरेपछि छट्पटिएर गोसाइँकुण्ड जाने क्रममा नगरकोटमा बास बसेको धार्मिक विश्वासका आधारमा आजको दिन सो कुण्डमा मेला लाग्ने गरेको अर्का संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गोसाइँकुण्ड जान नसक्ने भक्तजनले यो कुण्डमा स्नान गरे गोसाइँकुण्डमा स्नान गरेसरह नै पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।”

त्यसैगरी गोसाइँकुण्डकै प्रतीक मानिने भक्तपुरको धल्चा पुखुः (कालदह)मा पनि बिहानैदेखि भक्तजनले स्नान गरिरहेका छन् । सो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरवारस्क्वायरस्थित शिलु महादेव (फसी देगः)को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।

आजको दिन कालदहमा स्नान गरी महादेवको पूजाअर्चना गरे सुख, शान्ति र पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास र मान्यतासमेत रहेको छ । स्नानपछि भक्तजनहरू जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology