• Thursday 30th of July 2026

उठ्न थाल्यो बनेपाको फोहर


  • गोकर्णेश्वर अनलाइन

बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ ।

फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो ।

“नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहर उठ्छ”, नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भन्नुभयो, “शनिबारबाट फोहर उठाउन थालिसकेको छ ।” फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको हो ।

ग्रिापिस इन्भारोमेन्ट प्रालिका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहर उठाउन थालिएको जानकारी दिनुभयो । पहिलादेखि उठाएको फोहर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले नुवाकोटको सिसडोलमा लगेर फाल्ने गर्दै आएकोमा पछिल्लो समयमा त्यहाँ जाने बाटो अवरुद्ध भएपछि समस्या आएको थियो । अब अर्को संस्थालाई आफूले व्यवस्थापनको जिम्मा दिएकाले फोहर उठ्न थालेको उहाँको भनाइ छ ।

“बनेपाको चार दोबाटो चोकको फोहर उठाइसकिएको छ”, उहाँले भन्नुभयो, “आजबाट बनेपा नगरपालिका पछाडी रहेको बसपार्कमा थुपारेको फोहर उठाउने काम भइरहेको छ ।” अहिले फोहर उठाउनका लागि दैनिक ७÷८ वटा गाडी प्रयोग भइरहेको जनाइएको छ । यहाँबाट उठाएको फोहर यसअघि सिसडोलस्थित ल्याण्ड फिल साइडमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहर उठाउन थालेको लामाले बताउनुभयो ।

सिसोडलमा लान नसकेपनि मूलपानीमा रहेको फोहर प्रशोधन कम्पनीले नियमित रुपमा फोहर लिने भएपछि अब कुनै पनि समस्या नआउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बनेपाका विभिन्न स्थानमा थुपारिएको फोहर एक हप्ताभित्रमा उठाइसक्छौं ।”

बनेपा नगरपालिकाले दीर्घकालीन रुपमा फोहर व्यवस्थापनको योजना नबनाउँदा ल्याण्डफिल साइडमा लगेर फाल्न नपाउने समस्या आउने गरेको छ । यसले अरनिको राजमार्गको बनेपास्थित मुख्य चोक चार दोबाटाको सडक छेउमा नै फोहरको डङ्गुर थुपार्ने गरेकाले समस्या आउने गरेका छन् ।

पछिल्ला समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइडमा जाने बाटो अवरुद्ध हुँदा करिब डेढमहिना भन्दा बढी समयदेखि बनेपा बजारको फोहर उठेको थिएन । फोहर नउँठाएदा बनेपा बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology