• Saturday 25th of July 2026

मनाङका विद्यालयको भौतिक संरचना सेनाले बनाउने


  • गोकर्णेश्वर अनलाइन

बाढीपहिराका कारण क्षति पुगेका यहाँ विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु-याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु-याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ ।

जिल्लाका नमूना विद्यालयका रुपमा रहेका लोकप्रिय माध्यामिक विद्यालय र प्रकाशज्योति माध्यमिक विद्यालयको आधा भाग बाढीले बगाएको छ । बाढीका कारण क्षति पुगेका विद्यालयमा पठनपाठन गराउन सकिने अवस्था नरहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

चार मात्रै माध्यमिक विद्यालय रहेको मनाङका विद्यालयमा नदी पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । बाढीपहिराले सडक सञ्जालबाट विच्छेद रहेका विद्यालय भवन निर्माणका लागि सेनाले सहयोग गर्ने भएको रेग्मीले जानकारी दिनुभयो । “भविष्यमा देशको कार्यभार सम्हाल्ने साना विद्यार्थीको उज्यालो भविष्य बनाउनका लागि सेनाले भवन निर्माण गरेरसहयोग पु-याउने भएको छ”, उहाँले भन्नुभयो ।

कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ नै अनिश्चित भएपछि सेनाले विद्यालय भवन निर्माण सहयोग गर्ने तत्परता देखाएको छ । सेनाले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भएपछि मनाङवासीका साथै बालबालिका समेत हर्षित भएका छन् ।

नासों–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ । उहाँका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा बाढीका कारण क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै नासों–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माध्यमिक विद्यालयलाई एकतर्फ मस्र्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु-याएको छ । कक्ष १२ सम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस हुने गरेको छ ।

जिल्लाका चार माध्यमिक विद्यालयमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मात्रै बाढीबाट जोगिएको रेग्मीले जानकारी दिनुभयो । सदरमुकामस्थित चामे–४ को नमूना विद्यालय लोकप्रिय माध्यमिकको भवनमा मस्र्याङ्दी नदीको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ ।

छात्राबाससहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । नेपाली सेनासँग कहिलेदेखि भवन निर्माणको थालनी गर्ने, भौतिक संरचना निर्माण आवश्यक पर्ने सामग्री कसरी क्षति पुगेको स्थानसम्म पु-याउनेलगायतका प्राविधिक तथा सामाजिक, विधिगत विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानले जानकारी दिनुभयो ।

“सडक सञ्जालबाट पूर्ण रुपमा टाढा भएका छौं, विद्यालय विद्यार्थीको भविष्य निर्माणका लागि आवश्यक छ, सडक सञ्जाल निर्माण छिटो भए सहज हुने थियो, पहल गरिरहेका छौं, अझैसम्म पनि वर्षा हुने क्रम जारी रहँदा समस्या थपिएको छ”, उहाँले भन्नुभयो ।

कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन थिलो थिलो बनाएको उहाँले बताउनुभयो । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सुचारु गर्नुपर्ने हुन्छ । विद्यालय भवन नै बाढीपहिराले बगाएपछि मनाङका विद्यार्थी शिक्षाबाट वञ्चित हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology