• Thursday 30th of July 2026

तेह्र लाख ५० हजार जरिवनापछि फरार गजुरेल पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीले रु १३ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका नुवाकोट बेलकोटगढी नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेललाई आज पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असार २८ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १३ लाख ५० हजार जरिवानापछि फरार रहेका गजुरेललाई आज बालाजु शेषमतीपुलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका गजुरेलले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology