• Wednesday 29th of July 2026

तस्कारको निसानामा रेडपाण्डा


  • गोकर्णेश्वर अनलाइन

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्कारले रेडपाण्डालगायत अन्य जनावार चोरी–निकासी गर्ने क्रम बढेको हो । खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अङ्ग ल्याउन व्यापारी गाउँगाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिनुभयो ।

सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हप्तैपिच्छे बारेकोटको जङ्गलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेको छन् । बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाई के मतलव ? वनका कर्मचारी सदरमुकाममात्रै बस्छन् ।”

विभिन्न सङ्घसंस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि उनै छलफलमा सहभागी भएका व्यक्ति तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्यत भएको बारेकोट गाउँपालिका–४ मैनाका रामबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “चोरी निकासी रोक्नुपर्छभन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरुद्ध तस्कार समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो । प्रहरीले वन समूहलाई समेत सहयोग गरेन, उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?”

पाँच वर्षभित्रको तथ्याङ्क हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रङ्गेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ । मासिँदो जङ्गल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ ।

स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारलाई थप सजिलो भएको छ । बारेकोट वन्यजन्तुका लागि उर्वर ठाउँ हो । विश्वमा लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बारेकोटमा भारी मात्रामा रहेको छ । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियानकर्मी गोविन्द सिंहका अनुसार तस्कारको योजना ठूलो मात्रामा रहेको छ ।

स्थानीयवासी नै सचेत नहुने हो भने यो तस्कारको जालोले सबै कुरा सिध्याउने बताउनुहुन्छ । डिभिजन वन कार्यालय र यसका माताहातका कार्यालयको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ । डिभिजन कार्यालयमा खटिएको भनी गलत जानकारी दिई सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्बसाधारण बताउँछन् । सामुदायिक वन समूहका पदाधिकारी तस्कारसँग मिल्दा अर्को समस्या सिर्जना भएको छ । समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएकाले चोरी निकासीका लागि बल पुगेको स्वयं डिभिजन वन कार्यालय स्वीकार गर्दछ ।

समूहबाट भएको आम्दानीसमेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाई नै थाहा हुँदैन । वर्षेनी सामुदायिक वनमा राम्रो घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिसमेत कारबाही नहुनुले वन्यजन्तुको बासस्थानमै खतरा पैदा हुँदै आएको छ । रेडपाण्डाको बासस्थानरूपमा रहेको निगालोको बाक्लो जङ्गल, रुखका मुडा वर्षेनी फडानी, आगलागीका कारण सखाप हुँदै आएको छ ।

यसले गर्दा वन्यजन्तु मासिने क्रम बढिरहेको छ । यसैबीच नलगाड नगरपालिका–८, ९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैधरूपमा राखिएका बन्दुक प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । एक महिनाको अवधिमा चारभन्दा बढी बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मधु थापाले बताउनुभयो । नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखि ठूलो मात्रामा तस्कार, लागुऔषध कारोबारी तथा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ । जतिबेला समस्या र अप्ठ्यारो परिस्थति आउँछ, त्यतिबेला तस्कार गाउँगाउँ पुग्ने गरेको पाइएको छ । डोल्पा, रुकुम पश्चिम र जुम्लालगायतका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्कारको सङ्ख्यासमेत ठूलो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology