• Friday 24th of July 2026

पूर्वमन्त्री बस्नेतले सरकारी सेवाको रकम सामाजिक कार्यमा खर्चने


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनु भएका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताउनुभएको हो । सांसद बस्नेतले भन्नुभयो, “मेरो नेतृत्वमा अहिले भक्तपुरले विकासको मुहार फेर्दैछ, अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा नमूनाको जिल्ला बनाउने अठोट गरेको छु, यो सँगै अब मैले सरकारी सरकारी सेवा सुविधाबाट आएको रकमको १० प्रतिशत सामाजिक सेवामा लगाउँछु ।” बस्नेतले घोषणासँगै पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गर्नुभयो । उहाँले सांसदले पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरि सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने समेत घोषणा गर्नुभयो । सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रुपमा विकास गर्ने योजना सहित रु एक करोड ५० लाख रकम विनियोजन भएको बताउनुभयो । त्यसैगरि भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदा वस्ती संरक्षण गर्न सरकारले रु १५ करोड रकम व्यवस्था गरेको जानकारी दिनुभयो । सरकारले गरेको विकासको काम नदेख्ने वा नदेखे झंै गर्नेहरुले नै सरकारले विकास गरेन भन्न थालेको बताउँदै उहाँले अब भक्तपुरको विकास निर्माणको लागि स्रोत तथा साधनको कुनै अभाव नहुने बताउनुभयो । सांसद बस्नेतले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकको घलाते, मध्यपुरथिमिको गठ्ठाघर र मध्यपुर थिमिकै बोडेमा तीन वटा नयाँ आकाशे पुलहरु निर्माण हुन लागेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology