• Friday 24th of July 2026

अलैँचीको भाउ नपाउँदा किसान निराश


  • गोकर्णेश्वर अनलाइन

–रामबहादुर थापा चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य नपाएपछि अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिनुभयो । “शुरुमा राम्रो भाउ पाएपछि उत्साहित भएर अलैँची खेतीतिर लागियो”, उहाँले भन्नुभयो, “अहिले त खर्च पनि उठ्न छोड्यो ।” श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँचीखेती गर्दै आउनुभएको छ । यो वर्ष उहाँकोमा १०० किलो काँचो अलैँची उत्पादन भएको छ । उक्त अलैँची सुकाउँदा २५ किलो जति ठहर्ने श्रीषको भनाइ छ । काँचो अलैँची बेच्दा भने प्रतिकिलो रु १०० पर्छ । राङ्खानी, पाहीका अगुवा अलैँची किसान केदार शर्माले गाउँभरिको अलैँची खरिद गरेर बाहिर बेच्दै आउनुभएको छ । राङ्खानीमा १५ बढी किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । घरायसी प्रयोजनका लागि लगाउने किसानको सङ्ख्या भने धेरै छ ।

माझगाउँकै अलैँची किसान धनबहादुर रानाले मूल्य घटेपछि अलैँची खेतीको विस्तार रोकिएको बताउनुभयो । “गत वर्षदेखि नयाँ बिरुवा कसैले लगाएको छैन”, उहाँले भन्नुभयो । मूल्य घटेपछि अलैँचीखेतीतर्फ किसानको आकर्षण घट्दो छ । अलैँची खेतीमा नयाँ किसान थपिन सकेका छैनन् । पाँच वर्षअघि अलैँचीका विज्ञ पारसमणि काफ्लेले राङ्खानीका किसानलाई अलैँची खेतीबारे सिकाउनुभएको थियो । उहाँले नै केहीवर्ष गाउँका किसानबाट अलैँची खरिद गरेर लैजानुहुन्थ्यो । मूल्य घटेपछि अहिले कोही पनि अलैँची सोध्न किसानकोमा जाँदैनन् । अलैँचीको खेतीमा लाग्ने मेहनत र श्रम अनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको ठूलो समय र श्रम अलैँची खेतीमा खर्च हुन्छ । ठूलो क्षेत्रमा लगाउने किसानले ज्यालामा मजदूर लगाएरै काम गर्नुपर्ने अवस्था छ ।

जैमिनी नगरपालिकाले राङ्खानीसहित वडा नं २, ३ दमेक र ९ पैँयूथन्थापलाई समेटेर अलैँचीको पकेटक्षेत्र बनाउने तयारी गरेको छ । राङ्खानीका किसानलाई अलैँची खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले अलैँची प्रशोधन यन्त्रसमेत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । हालै दमेकका किसानलाई अलैँचीखेती सम्बन्धी तालीम र बिरुवा प्रदानस गरिएको छ । जैमिनी क्षेत्र अलैँचीखेतीको उपयुक्त मानिन्छ । कृषि ज्ञान केन्द्र, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले अलैँचीको बजार व्यवस्थापन हुन नसकेको बताउनुभयो । “विदेशमा नेपाली अलैँचीको माग बढ्दो छ, बाहिर मूल्य पनि राम्रो छ”, उहाँले भन्नुभयो, “सीमित भारतीय व्यापारीको एकाधिकारले गर्दा नेपाली किसानले उचित मूल्य पाउने सकेका छैनन् ।” सरकारले तोकेको मूल्यमा अलैँची बेच्न सके किसान पनि खुशी भएर उत्पादनमा लाग्ने अधिकृत रेग्मीले बताउनुभयो । भारतबाहेक अन्य मुलुकमा पनि अलैँची व्यापारका लागि सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा उत्पादित अलैँची पूर्वी नाका हुँदै भारत निर्यात हुने गरेको छ । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology