• Friday 24th of July 2026

बाख्रापालनमा युवाको आकर्षण


  • गोकर्णेश्वर अनलाइन

—सुशीला रेग्मी पूर्वखोला गाउँपालिका– ३ अर्खलडाँडा बस्ने टेकनाथ पङ्गेनीले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालनी गर्नुभएको छ । करीब नौ वर्षसम्म रामपुर बेझाड बजारमा होटल व्यवसाय चलाउनुभएका पङ्गेनीले आठ महिनादेखि गाउँ फर्केर बाख्रापालन शुरु गर्नुभएको हो । सङ्घीयता कार्यान्वयन भएसँगै गाउँ गाउँमा चहलपहल बढ्न थालेकाले गाउँ नै फर्केर बाख्रापाल्न थालेको उहाँ बताउनुहुन्छ । तनहुँबाट स्थानीय खरी र क्रस जातका बाख्रा खरीद गरेर व्यवसाय थाल्नु भएको हो । उहाँको फार्ममा ४३ वटा माऊ बाख्रासहित हाल ६० बाख्रा रहेका छन् । “पहिला गाउँमा केही पनि सेवा सुविधा नहुदा गाउँ छाडेर बजारतिर व्यवसायको खोजीमा पसियो, अहिले गाउँमै सबै सेवा सुविधा हुन थालेपछि बजारको व्यवसाय छाडेर पुनः गाउँ फर्किएर बाख्रा पाल्न थाले”, उहाँले भन्नुभयो । गाउँमा सेवा सुविधा नहँुदा पङ्गेनीले आफू बसोवास गरेको घर घडेरी, खेतीयोग्य जमीन छाडेर रामपुर बजारमा होटल व्यावसाय चलाउन पुग्नुभयो । होटल व्यवसायबाट पनि उहाँले राम्रै कमाई गर्नुहुन्थ्यो । अन्तत : गाउँकै माया, पाखा पखेराले उहाँलाई पुख्र्योली थलोमै व्यवसाय गर्ने माध्यम बनाइदिएको छ सङ्घीयताले ।

यो व्यवसायका लागि पूर्वखोला गाउँपालिकाले खोर सुधार शीर्षकमा रु ५० हजार रकम अनुदानका साथै विभिन्न तालीम उपलब्ध गराएको छ । प्रशस्त घाँसपात, चरनको व्यवस्था भएको हुँदा बाख्रापालनमा सजिलो परेको उहाँको भनाइ थियो । “आफ्नै जग्गा जति पनि छ, भाडा तिर्नु परेन, गाउँकै पाखा पखेरामा काम गर्दा आनन्द लाग्ने गरेको छ, उकाली ओराली हिँड्डुल गर्दा स्वास्थ्यलाई पनि फाइदा गरेको छ”, उहाँले भन्नुभयो । भविष्यमा करीब चार सय बाख्रा पाल्ने लक्ष्य लिनुभएको पङ्गेनीले यो व्यवसायमा एक जनालाई रोजगारी दिनुभएको छ । उहाँले आफ्ना खाली रहेका सबै जग्गामा उन्नत जातका घाँसपात लगाउने, व्यवस्थित तरिकाले आधुनिक खोर निर्माण गरेपछि बाख्रा थप गरी गाउँका बेरोजगार युवालाई रोजगार दिने सोँच बनाउनुभएको छ । यहाँ उत्पादन भएको बाख्राको बजार रामपुर, तानसेन रहेको छ । पछिल्लो समय बाख्राको माग बजारमा बढ्दो रहेकाले पनि बाख्रापालनमै जोड दिएको उहाँले बताउनुभयो ।

त्यस्तै रामपुर नगरपालिका–१० मनभागा छाप बस्ने तुला सारुले पनि वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । स्थानीय जातका ४२ वटा बाख्रा उहाँको फार्ममा छ ।“वैदेशिक रोजगारीमा सोचे अनुसारको काम नभएपछि गाउँ फर्केर बाख्रापालन शुरु गरेको छु, विदेशमा धन कमाउन भनेर ऋण खोजेर गएको राम्रो कमाउने आशा नै मरुभूमिमा विलिन भयो”, उहाँले भन्नुभयो । रामपुर नगरपालिका क्षेत्रमा करीब दुई दर्जन जति युवा व्यावसायिक बाख्रापालनमा लागेको रामपुर नगरपालिका पशु शाखा अधिकृत मोहनप्रसाद भट्टराईले बताउनुभयो । बाख्रापालनबाट राम्रो आयआर्जन लिन थालेको उहाँको भनाइ थियो ।पहिला व्यवसाय गर्न मन भए पनि सामान्य सरसामान, कामका लागि शहर बजार नै धाउनुपर्ने अवस्था थियो । यही समस्याले यहाँका धेरैले विभिन्न पेशा, व्यवसाय, छोराछोरीको पढाइको सिलसिलामा गाउँ छाड्न बाध्य भएका थिए । देशमा सङ्घीयता कार्यान्वयनमा आएपछि भने गाउँ फर्केर पुनः पुरानै थाक थलोमा व्यवसाय गर्ने क्रम बढ्दो छ ।

स्थानीय सरकारले कृषि तथा पशुपालनमा जोड दिई किसानलाई व्यावसाय गर्न सहुलियत दरमा ऋण, अनुदान रकम उपलब्ध गराइरहेको छ । गाउँमा तरकारीखेती, पशुपालन, फलफूल खेतीमा आकर्षण बढ्दो छ । गाउँ–गाउँमा सडक सञ्जाल, विद्युत्लगायतका विभिन्न सेवा सुविधा पुग्न थालेपछि अहिले शहर बजारमा भन्दा ग्रामीण भेगमा चहलपहल बढ्दो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology