• Friday 24th of July 2026

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने


  • गोकर्णेश्वर अनलाइन

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ, यदि यसो नगरिए कारवाही भोग्नुपर्नेछ ।” पछिल्लो समय धेरै बालविवाह भएको भन्ने व्यापक गुनासो आएकाले पण्डितहरू पनि उमेर नपुगेका केटाकेटीको विवाह नगराउन सहमत भएका हुन्  । एक तथ्याङ्कअनुसार जिल्लामा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ ।

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्धविच्छेदलगायत घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहितलाई प्रशिक्षण दिएर यस्तो प्रतिबद्धता गराएको हो । बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गर्दछन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित बोलाएर विधिपूर्वक सिन्दूर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई चिर्न यस्तो अभियान चलाइएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभयो ।उमेर नपुगेका केटाकेटीले विवाह गरिदिनु पर्यो भनी बोलाए भने हामी जाँदैनौं उल्टै सम्झाएर पठाइदिने अभियानमा लाग्छौ, ३० वर्षदेखि पुरोहित्याइँको काम गर्दै आउनुभएका भेरी नगरपालिका मटेला निवासी सत्यप्रसाद शर्माले भन्नुभयो, “प्रहरीको प्रशिक्षणले हाम्रो आँखा खोलिदिएको छ, हामीले मात्र इमान्दारिता देखायौँ भने पनि बालविवाह निकै घट्छ ।” जिल्लाका १५ पुरोहितको सहभागिता रहेको सो प्रशिक्षणमा बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखापर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

प्रहरीले जिल्लामा आमा समूह र स्कूले विद्यार्थीलाई बालविवाहविरुद्ध प्रशिक्षण दिइरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी गराउनुभयो । उमेर नपुगेकाको विवाह गराउने पुरोहित, लमी र अभिभावकलाई तीन वर्षसम्म कैद र रू ३३ हजार जरिवानाको कानूनी व्यवस्था छ । जाजरकोटमा बालवविवाह न्यूनीकरणका लागि बहुआयमिक विकास मञ्चलगायत संस्थाहरुले काम गर्दैआए पनि ती सबै कार्यक्रम प्रभावहीन देखिएका थिए । ती संस्था सामाजिक रूपमा भन्दा राजनीतिक प्रभावमा काम गर्न थालेकाले प्रभावहीन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology