• Friday 24th of July 2026

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह


  • गोकर्णेश्वर अनलाइन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गर्नु भएकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको शुरुआत गरिएको बताउनुभयो । सहकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने अभियान चलाएको उल्लेख गर्दै उहाँले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम गर्ने कर्मचारीको भविष्य सुरक्षित गर्न सहकारीलाई आबद्ध गराउन थालिएको बताउनुभयो । साना किसान तथा सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक डा शिवराम कोइरालाले सरकारले ल्याएको सामाजिक सुरक्षा कोषले आफूहरु सहभागी हुन तयार रहेकाले पहिले सञ्चय कोषमा राखिएको आफूहरुको कोषका बारेमा स्पष्ट गराउनुपर्ने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) अध्यक्ष डिबी बस्नेतले सामाजिक सुरक्षा कोषले सहकारीमा काम गर्ने कर्मचारीले पनि निवृत्तिभरण पाउँछन् भन्ने गराउने भएकाले आबद्ध हुने बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले कोषमा आबद्ध हुन आफूहरुले खोजे पनि केही प्रावधानका कारण हुननसकेको भन्दै ती प्रावधान सुधार गर्नुपर्ने बताउनुभयो । सरकारले गत वर्ष मङ्सिर ११ गते सामाजिक सुरक्षा कोष घोषणा गरेर यही साउन १ गतदेखि देशभरि लागू भएको हो । कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार कोषमा अहिले १० हजार सङ्घ संस्थाका करीब एक लाख आठ हजार सूचीकृत भएका छन् । उहाँले सबै सहकारी संस्थालाई कोषमा आबद्ध हुनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । मुलुकभरि करीब ३५ हजार सहकारी रहेका छन् । कोषमा अहिले पाँच सय सहकारी सूचीकृत भइसकेका छन् । कोषमा सूचीकृत भएपछि ११ प्रतिशत रोजगारदाताबाट र २० प्रतिशत रोजगारदाता संस्थाबाट रकम जम्मा हुने गर्दछ । कोषमा सूचीकृत हुनका लागि आगामी मङ्सिर १४ गतेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology