• Friday 24th of July 2026

सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउँछ : मन्त्री भण्डारी


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा दुई दिनसम्म सञ्चालन हुने ‘कर्णाली प्रदेशसभा सदस्यका लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ विषयक कार्यशालाको उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारी आधुनिक मानव समाज सूचना प्रविधिमैत्री बनिसकेको बताउनुभयो । “खासगरी फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जालका विविध आयामबारे सांसद जानकार हुन आवश्यक छ,” मन्त्री भण्डारीले भन्नुभयो, “अबको युग भनेकै विश्वलाई नजिकबाट हेरेर आफ्नो काम अघि बढाउने हो ।” सूचना र प्रविधिको सही सदुपयोगबाट राम्रै कुराको लाभ लिन सकिनेमा जोड दिँदै उहाँले कार्यशालामा सहभागी सांसदलाई अधिकतम ज्ञान लिन आग्रह गर्नुभयो ।

हामीसँग भएको मस्तिष्कलाई प्रयोगमा ल्याउन इच्छाशक्ति र अभ्यास दुवै आवश्यक भएकोले सबैले आफूलाई ऊर्जाशील र आत्मप्रेरित बनाउनुपर्नेमा उहाँको जोड थियो । कार्यशालामा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले सांसद्का लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदमबहादुर रोकायाले समय सुहाउँदो कार्यक्रम भएको तर्क दिनुभयो । नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले प्रविधिसम्बन्धीको ज्ञान दिने कार्यशाला स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि क्यारिना श्रेष्ठले नेपाल सरकार तथा प्रदेश सरकारका सबै सांसदको सीप तथा क्षमता अभिवृद्धिका लागि युएनडिपीमा सांसद सहयोग परियोजना रहेको र त्यही परियोजनाअनुसार कर्णालीमा सहकार्य गरेर कार्यशाला सञ्चालन गरिएको बताउनुभयो । सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तले सांसदलाई सञ्चार, प्रेस सम्मेलन, विज्ञप्ति, संसद्मा गरिने टिप्पणी, सामाजिक सञ्जालको प्रयोग, भ्रामक समाचारबाट कसरी बच्ने र गलत सूचनालाई रोक्ने तरिकाबारे ज्ञान तथा सीप प्रवाह गरिने बताउनुभयो । कार्यशालामा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले मल्टिमिडियासम्बन्धी प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology