• Saturday 25th of July 2026

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


  • गोकर्णेश्वर अनलाइन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा यसबाहेक केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभाग गठनसम्बन्धी व्यवस्था छ । विधानमा २८ विभाग रहने व्यवस्था गरिएको छ भने केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्थासमेत उल्लेख छ ।

यसैगरी बैठकमा समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको भ्रातृ र छ शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुनेछ । पार्टीका १३ भ्रातृ संस्थामध्ये नेपाल विद्यार्थी सङ्घ, नेपाल तरूण दल, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको छ । त्यस्तै १८ शुभेच्छुक संस्थामध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, नेपाल प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ तथा नेवाः खलको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology