• Tuesday 8th of September 2026

चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने


  • गोकर्णेश्वर अनलाइन

चितवन मेडिकल कलेज (सिएसमसी) ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सिएमसी प्रशासनले छ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ । यही मङ्सिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुईबुँदे सहमति भएको थियो । सहमतिमा एमबिबिएस र बिडिएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मङ्सिर ११ बाटै समायोजन गर्ने भनिएको थियो । शैक्षिक सत्र २०७२÷७३ र २०७३÷७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ । यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन् । उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन् ।

पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन् । एमबिबिएस र बिडिएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको बढी लिइएको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीले माग राख्दै आएका छन् । सिएमसीले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बिएमएलटी, बिएमआइटीमा पनि तोकेकोभन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गरिनेछ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले भन्नुभयो, “सरकारसँग गरेको दुईबुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ ।” आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप शुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology