• Friday 24th of July 2026

चिसोले झापाको जनजीवन प्रभावित


  • गोकर्णेश्वर अनलाइन

पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित शीतलहर चलेको हुँदा सडकमा यातायातका साधन कम चलेका छन् भने सर्वसाधारणको हिँडडुल पनि कम भएको छ । आजको भद्रपुरको अधिकतम तापक्रम १२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने बिहान ९ डिग्री सेल्सियस रहेको थियो । नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णकुमार चुँडालले दृश्य क्षमता न्यून भएका कारण काठमाडौँबाट भद्रपुरसम्मको सबै उडान रद्द गरेको बताउनुभयो । ‘आजको दृश्य क्षमता ५०० मात्र छ, विमानस्थलमा दुई हजार २०० दृश्य क्षमता नभई यहाँ विमान बस्न सक्दैन उहाँले भन्नुभयो, “बेलुकातिर आउँछ कि अहिले भन्न सकिँदैन ।”

बुद्ध एयर, यतिलगायतका विमान नियमित आइरहे पनि सात दिनदेखि सौर्य एयरलायन्सले भद्रपुरका सबै उडान स्थगित गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सबै इलाका प्रहरी कार्यालयलाई सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरेर सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रहरीले झापाको राजगढ, मेचीनगर, भद्रपुर, गौरीगञ्ज, विर्तामोडलगायत विभिन्न तीन दर्जन स्थानमा काठको मुडा सडक किनारमा बालेर आगो ताप्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिनुभयो । काठको मुडा स्थानीय सामुदायिक वनको सहयोगमा जुटाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology