• Saturday 25th of July 2026

जाने होइन त मोराडाँडामा हिउँ खेल्न


  • गोकर्णेश्वर अनलाइन

–हरि बास्तोला तिनताका पोखराबाट ताङतिङ पुग्न झण्डै एक दिन नै हिँड्नुपथ्र्यो । जमाना फेरिएको छ । पोखराको काँहुखोलाबाट २१ किलोमिटरको यो ठाउँमा अहिले मोटर पुगिसकेको छ । प्रकृतिले बरादान दिएको ठाउँ हो ताङतिङ । कास्कीको मादी गाउँपालिकाको हिमाली तथा पहाडी दृश्य एकसाथ अवलोकन गर्न पाइने पर्यटकीय गाउँ ताङतिङबाट करिब एक घण्टाको पैदल यात्रापछि पुगिने नौंचुलगायत मोराडाँडादेखि नै सेताम्मे हिमपातले त त्यहाँ पुग्ने जोकोहीलाई अझै मनमोहक बनाउने गर्छ । गाउँ माथिको नौंचु, त्यसभन्दा माथिको मोहोराडाँडा, करपुडाँडा कोरी, क्हफुचेलगायतका स्थान चिसो बढ्ना साथ हिउँ पर्ने ठाउँ हुन् । हिउँ पर्ने भए पनि यसको प्रचार हुन नसक्दा हिउँका पारखी पोखरा नजिकैको यो ठाउँ छोडेर टाढाटाढा पुग्ने गरेका छन् । प्रकृति र संस्कृतिको अनुपम वरदान जस्तै बनेको ताङतिङ गाउँको शिरमा रहेको गुरुङ बस्ती नौंचु ४०० वर्ष अघिदेखि अस्तित्वमा आएको ठाउँ हो । आइतबार परेको बाक्लो हिमपातकोे दृश्यले त्यस स्थानमा पुग्ने जो कोहीलाई पनि मनमोहक बनाएको थियो । खासै चिसो पनि छैन । न हावा चलेको छ नत कुनै आवाज सुनिएको थियो ।

शान्त वातावरणमा मोरोडाँडामा एकनास परिरहेको हिँउलाई छुने, लडिबुडी खेल्ने र एकापसमा हिँउले हानाहान गरेर आन्तरिक पर्यटक रमाइरहेका दृश्यले यो कुनै युरोपभन्दा कम थिएन भन्ने लाग्थ्यो । सो स्थानमा पुगेको मादी गाउँपालिका–९का अध्यक्ष तोरण गुरुङ, युवा सङ्घ तनहुँका अध्यक्ष ईश्वर बस्याल, तिर्सन गुरुङसहितको टोली हिउँमा रमाउँदै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा राख्नुभयो । ताङतिङदेखि नौंचु, मोराडाँडा हुँदै समुद्री सतहदेखि तीन हजार १०० मिटरको उचाइमा रहेको क्रपुडाँडा खर्कसम्म पुग्नका लागि हालै खनिएको मोटर बाटो अहिले हिउँले सेताम्मे भएपछि यातायातका साधन सञ्चालनमा अवरोध भएको छ । गण्डकी प्रदेशकै एक नमुना होमस्टे (घरबास) ताङतिङमा बास बसेर बिहान एक घण्टाको समयमा पुग्न सकिने सो बाटोमा अचेल हिउँले र फागुनमा लालीगुराँसको फुलले बाटो ढपक्क ढाक्ने गर्छ । विगतको तुलनामा यस वर्ष छिटो हिउँ परेका कारण यतिखेर ताङतिङबाट उकालो लागेपछि देखिने लालीगुराँसका रुखसहित हिउँले ढाकेर सेताम्मे डाँडाहरुको दृश्य र हिउँमा रमाएको पहिलो पटक भएको मादी गाउँपालिका–२ ताङतिङका वडाध्यक्ष एकजङ गुरुङले आप्mनो अनुभव सुनाउनुभयो ।

उहाँका अनुसार विगतमा पुस महिनाको अन्तिम साता तिर पर्ने गरेको हिउँ यस वर्ष ८ गतेबाटै शुरु भएको हो । हिउँ खेल्नका लागि पोखराबाट सबैभन्दा नजिक रहेको यस स्थानमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको पहल शुरु गरिएको उहाँले जानकारी दिनुभयो । एक हजार ७०० मिटरको ताङतिङदेखि तीन हजार १०० मिटरको उचाइसम्म १३ किलोमिटर मोटर बाटो सांसद खगराज अधिकारीमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु ७० लाखको लागतमा नयाँ ट्रयाक खोलिएको छ । अध्यक्ष गुरुङका अनुसार यसवर्ष प्रदेश सरकारबाट बाटो पक्की बनाउनका लागि रु ५० लाख विनियोजन भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मादी गाउँपालिकाले नयाँ वर्ष २०७७ का अवसर पारेर वैशाख १ देखि १० गतेसम्म क्रपु महोत्सव गर्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिनुभयो । समुद्री सतहबाट ५२० देखि सात हजार ९३७ मिटरको अन्नपूर्ण हिमाल अवस्थित गाउँपालिकाको समृद्धिका लागि महोत्सव कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उहाँले अन्नपूर्ण हिमश्रृङ्खला तथा मादी नदीको उचित उपयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology