• Friday 24th of July 2026

पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरु


  • गोकर्णेश्वर अनलाइन

पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी किचलोका कारण लामो समयदेखि रोकिएको निर्माण प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाइ गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । रु ४० लाख लागतमा निर्माण गर्ने गरी थालिएको भवन निर्माणको काम रु ३० लाख खर्च भएपछि २०७२ सालदेखि रोकिएको थियो । विद्यालयका प्रअ रामकुमार राईले भन्नुभयो, “लामो समयबाट निर्माण कार्य अलपत्र थियो, प्रजिअको रोहवरमा काम शुरु गर्ने निर्णय भएकाले अब कामलाई निरन्तरता दिन्छौँ ।” भवन निर्माणको काम करीब अन्तिम चरणमा पुगेपछि स्थानीयवासीले निर्माण समितिले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दिएका थिए । आयोगले छानबिन गरेर कुनै पनि अनियमितता नभएको भन्दै क्लिन चिट दिए पनि काम रोकिएको थियो । सबैको गुनासो सम्बोधन भएकाले अब कामले निरन्तरता पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ नुरहरि खतिवडाले भन्नुभयो, “स्थानीयवासीको कुरा सुन्दा व्यक्तिगत रिसइबीको कारण अख्तियारमा उजुरी परेको रहेछ, जिल्लामा अख्तियारको छानबिन गर्ने जिम्मेवारी मेरो भएकाले यो पहल गरेको हुँ, अब काम अगाडि बढाउने निर्णय भएको छ ।” विगत वर्षमा गाउँपालिकाले आफ्नो केन्द्रमा रहेको सो विद्यालयलाई नमूना विद्यालय बनाउने योजनाका साथ बजेट विनियोजन गरेको थियो । निर्माण क्रममा केही व्यक्तिले गलत मनसायका साथ आयोगमा उजुरी दिएकाले बजेट खर्च नभएको जनाइएको छ । सबैको पहलमा निर्माणलाई अगाडि बढाउने सहमति जुटेकाले अब विद्यालयलाई नमूना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, “विद्यालयको काममा अवरोध थियो, जसका कारण विगतमा गाउँपालिकाले विनियोजन गरेको बजेट खर्च भएन, अब भने हामी नमूना विद्यालय बनाउने गरी काम अगाडि बढाउँछौँ ।” काम गर्ने वातावरण तय भएकाले भवन निर्माणलाई निरन्तरता दिने विद्यालयले व्यवस्थापन समितिले जनाएको छ ।

कामलाई गुणस्तरीय तरिकाले सञ्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश भुजेलको भनाइ छ । विद्यालय भवन निर्माण भएपछि अहिले कक्षाकोठाका कारण उत्पन्न भएको समस्या समाधान हुने विद्यालयले जनाएको छ । विद्यालयमा केही समयअघिदेयिख कम्प्युटरसँगै बालीविज्ञान कक्षासमेत सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology