• Saturday 25th of July 2026

केयूमा सात सङ्कायको मात्र ताला खुल्यो


  • गोकर्णेश्वर अनलाइन

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू)का विभिन्न सात सङ्कायमा लगाइएको ताला २८ दिनपछि खुलाइएको छ । पछिल्लोपटक गत पुस १६ गतेदेखि केन्द्रीय हाताका उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय टेक्निकल टे«निङ सेन्टर (टिटिसी) प्रशाकीय भवनलगायत मुख्य प्रशासनिक भवन तथा विभिन्न सङ्कायको कक्षामा तालाबन्दी भएको थियो । विश्वविद्यालयमा सञ्चालित सातै सङ्कायको कक्ष, परीक्षा नियन्त्रणको कार्यालय, टिटिसी प्रशासकीय भवनको ताला मात्रै खुलाइएको स्कुल अफ साइन्सका डीन प्रा डा कन्हैया झाले जानकारी दिनुभयो । उहाँका अनुसार उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दी खुलाइएको छैन । केयू प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले संयुक्तरुपमा विभिन्न माग राख्दै ताला लगाएको थियो । “सोमबारको बालुवाटार भेलामा शिक्षामन्त्री ज्यूले तालाबन्दी खोल्नुस्, पठनपाठन रोक्नु भनेको अपराधजस्तै हो, केयूको समस्याबारे पछि छलफल गरौँला भनेपछि आन्दोलनरत पक्षले आज बिहान ९ बजे आंशिक्षकरुपमा मात्रै तालाबन्दी खोल्नुभयो”, उहाँले भन्नुभयो । हिजोको विशेष छलफलमा केयू प्रशनसनले प्राध्यापक र कर्मचारी सङ्घका प्रतिनिधिलाई छलफलमा नराखेको र छलफलमा बसेका प्रतिनिधिलाई जबर्जस्त बाहिर पठाएको विरोधमा उपकुलपति, रजिष्ट्रार र डीन कार्यालयको तालाबन्दीे नखुलाइएको सङ्घका अध्यक्ष डा वेदमणि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विशेष सभामा लगेका कार्ययोजनाबारे भएको छलफलमा हामीलाई सहभागी नगराउनु खेदजनक छ, त्यसैले हाम्रा कार्ययोजना सकारात्मक सम्बोधन नभएसम्म तीनवटा कार्यालयको तालाबन्दी खोल्दैनौँ ।” यसअघि केयू प्रशासनले आन्दोलनरत पक्षलाई ‘माग सम्बोधन गर्ने’ आश्वासन दिँदा २१ दिनपछि ताला खुलाइएको थियो । दुई सङ्घ गत साउन २३ गतेदेखि विभिन्न माग राख्दै पटक–पटक आन्दोलनमा छन् । विभिन्न वार्ता असफल भएपछि दुई सङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएका छन् । सङ्घले काठमाडौँ विश्वविद्यालय ऐन–२०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, विश्वविद्यालयमा भइरहेको आर्थिक तथा नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्ति विकास जस्ता माग राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology