• Monday 27th of July 2026

माटो र मुसहरको नाता


  • गोकर्णेश्वर अनलाइन

– गोपालप्रसाद बराल माटोसँगको अटुट नाता ! माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने तराईका मुसहर जातिका कूलदेवता पनि भुँइयाँ महाराज । ‘भुँइयाँ’ अर्थात् भुइँका देवता । मुसहर आफ्नो यसै भुँईको नाता चिनाउँछन् । जीवन गुजाराको मुख्य पेशा नै कृषि मजदूरी मानिने मुसहर (पुरुष) तराईमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोकिने भार) बोक्न सम्झिने खास जाति समुदाय हुन् । माटोसँग यस्तो नाता जोड्ने मुसहरको अहिले (माघ महिना) कूलदेवता अर्थात् भुँइयाँ महाराजको पूजाआराधनाको उत्सवको मौसम (बेला) हो । महोत्तरीका प्रत्येकजसो मुसहर बसोबासका बस्तीमा अहिले दिनहुँजसो भुँइयाँ महाराजको पूजाआराधना आयोजन भइरहेका छन् । साउन, भदौ, कात्तिक, पुस र चैतबाहेक अन्य महिनामा सामूहिक छलफलबाट उत्सव गर्न मिल्ने भए पनि मुसहर फुर्सदको हिसाबले धेरैजसो माघमै यो उत्सव मनाउने गरेका देखिन्छ । माघमा कृषि काममा मजदूरी गर्न बोलाहट कम हुने भएको हुँदा यो उत्सव यसै महिनामा आयोजना गर्ने गरिएको मुसहरको भनाइ छ । बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले भुँइयाँ महाराजको तीनदिने पूजा अनुष्ठान भर्खरै सम्पन्न गरेका छन् । भङ्गाहाका मुसहर बस्तीमा धमाधम भुँइयाँ उत्सवको तयारी छ ।

एउटा बस्तीका मुसहरले सामूहिक रुपमा मनाउने यो अनुष्ठानमा भुँइयाँ महाराजका नाउँले चिनिने कूलदेवता दिना–भद्रि नाउँका दुई भाइको वीरगाथा गाउने, दिना–भद्रिका जीवनसँग सम्बन्धित नाटक खेल्ने, पूजा अनुष्ठान गर्ने र सामूहिक भोज खाने चलन छ । पूजाअनुष्ठानमा दिना–भद्रिको आराधनाका लागि ‘देहशुद्धि’ (शरीर शुद्धि) का लागि भकभक उम्लेको दूधले नुहाउने चलन छ । यस विधिलाई मुसहर ‘अपटनी’ भन्छन् । तान्त्रिक विधिको यो स्नान मुसहर जातिको मौलिक संस्कृति भएको नमूना बस्तीका एकमात्र उच्च शिक्षा अध्ययनरत (स्नातक तह पढ्दै गरेका) मञ्जे सादाले बताउनुभयो । “चरम गरिबी र अशिक्षाको भुँमरीमा जोतिएका हाम्रा पुर्खाले कुनै इतिहास लेखेनन्”, मञ्जेले भन्नुभयो, “वंश परम्पराबाट (देखेर) सर्दै आएको भुँइयाँ महाराज (दिना–भद्रि दाजुभाइ) को पूजा उत्सव नै हाम्रो जातिको विशेष सांस्कृतिक उत्सव बन्दै आएको छ ।” भुँइयाँ महाराजको पूजाआराधनामा तातो दूधले नुहाउँदा फोका उठ्ने वा कुनै स्वास्थ्य समस्या कहिल्यै थाहा नपाइएको बस्तीका माइजन (बस्तीका सबैले छानेका अगुवा, सांस्कृतिक प्रतिनिधि) बिशुुन सादाले बताउनुभयो । कूल धामीले तान्त्रिक विधिबाट सम्पन्न गर्ने ‘अपटनी’ तीनदिने उत्सवको मुख्य आकर्षण रहँदै आएको बिशुनको भनाइ छ ।

“सप्तरी जिल्लामा कोसी किनारको जोगियानगर बस्ती हाम्रा लागि तीर्थस्थल नै हो, आदिकालमा त्यहीँ नै कालु सादा (पिता) र निरसा सादा (माता) का सन्तान भएर जन्मनुभएका दिना–भद्रि दुवै भाइ (दिना र भद्रि दाजुभाइ रहेका विश्वास) भुँइयाँ महाराजको नाउँले प्रसिद्ध हुनुभयो”, बिशुनले आफ्नो पुरानो इतिहास थोरै कोट्याउँदै भन्नुभयो, “लिखत केही भेटिँदैन, सुने सुनाएका भरमा मान्दै आइएको छ ।” त्यतिखेर समाजमा हुने अन्याय र थिचोमिचोविरुद्ध सङ्गठित प्रतिरोधको प्रयत्न गर्दा आफ्नै गुरुआमा देवी बगेश्वरले दिना–भद्रिको हत्या गरेकी प्रसङ्ग आफ्ना बाजेले बताउनुभएको बिशुनको भनाइ छ । मुसहर जातिमा सादा, माझी र सदाय थर प्रायशः भेटिएका छन् । मुसहर जातिका पुराना कुनै लिखित इतिहास, वंशावली वा प्रामाणिक कागजात भेटिएका छैनन् । यद्यपि मुसहरका कूलदेवता दिना–भद्रिले ‘भुँई’ (यथार्थको अर्थमा) टेक्न (सत्य समाउन) आफ्ना सन्तानलाई प्रेरित गरेका हुँदा पछि उनलाई भुइँसँगको नाता जोडाउने देवताका रुपमा ‘भुँइयाँ महाराज’ भनिन लागिएको हुनसक्ने मुसहर जातिबारे अध्ययन गर्दै आउनुभएका भोर संस्थाका अध्यक्ष राजकुमार महतोको भनाइ छ ।

दिना–भद्रि १२ वर्षसम्म जमीनमुनि गाडिएर रहँदा पनि सकुशल रहेका लोकोक्तिले भुइँसँगको मुसहरको नाता झन् गाढा बनेको महतोको भनाइ छ । “न कुनै लोभ ! न धन सङ्ग्रहको भोक, आम रुपमा देखिने भेटिने मुसहर यस्तै हुन्छन्”, महतोले भन्नुभयो, “बिहान खाएपछि साँझको खानाको जोहोभन्दा पर भोलिका लागि मुसहरले केही सङ्ग्रह गर्दैनन् ।” पुस्तैनी ‘जन’ (दैनिक ज्यालादारी गर्ने मजदूर) भएर जिन्दगी गुजार्ने मुसहर समुदायमा अब बल्ल पछिल्लो पुस्ताका नानीहरु कतैकतै लेखपढ गर्न विद्यालय जान थालेका देखिँदो छ । यद्यपि लेखपढबारे थोरै चासो बढे पनि गरिबीकै कारणले खास तहको शिक्षा पाएका मुसहर एक्कादुक्का (कहीँकतै एक÷दुईवटा) मात्र भेटिन्छन् । गरिब र दलितका नाउँमा विभिन्न सचेतनामूलक र आयमूलक कार्यक्रम विभिन्न तहका सरकारले सञ्चालन गरे पनि मुसहर समुदायसम्म यो प्रभावकारी रुपमा नपुगेको महतोको भनाइ छ । घरमूली र वयस्क पुरुष बिहान उज्यालो हुनासाथ गिरहत (धनी, आपूmले काम गर्न जाने घरधनीलाई मुसहर गिरहत भन्छन्) को घर मजदूरी गर्न जान्छन् । सात÷आठ वर्ष नाघेका नानीहरु खुर्पी र कोदालो (खन्ने औजार) लिएर मुसा खोज्न, कहीँ मुसाको दुलो देख्नासाथ त्यसलाई पहिल्याउँदै खन्दै गएर मुसा मारेर घर फर्कनु मुसहर बालबालिकाको दैनिकी हो ।

घरका वयस्क महिला भने छोरीचेली लिएर घुँगी (हिलो पानीमा पाइने शङ्खे किरा प्रजातिको किरा) मार्न जान्छन् । मुसा पोलेर बनाइने चटनी र घुँगीको झोल मुसहरले खाने विशिष्ट परिकार मानिन्छ । तराईमा गुजुमुज्ज पराले छानाका छाप्रा (झुप्रा) देखिएपछि त्यो मुसहर बस्ती भनेर सहजै लख काट्न सकिन्छ । सोझा र आफ्नो गरिबी अभावबारे कसैप्रति गुनासो नगर्ने मुसहर कुपोषणकै कारण ५० वर्षभन्दा बढी बाँचेका हम्मेसी भेटिँदैनन् । जन्मदै माटोको टीका लगाइने, काम माटोकै गर्ने र कूलदेवता पनि ‘भुइँ’सँगै नाता जुटेका ‘भुँइयाँ महाराज’ पुज्ने मुसहर तराईका आदिवासी दलित समुदायका हुन् । यिनको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मुख्य रुपले शिक्षामै विशेष जोड दिनुपर्ने मुसहर जाति समुदायको बसोबास र रीतिथिति नजीकबाट नियाँल्नुभएका भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहालले बताउनुभयो ।

यसको मुख्य समन्वय स्थानीय तहबाटै हुनपर्ने दाहालको सुझाव छ । प्रदेश–२ का आठ जिल्लाबाहेक पूर्वका मोरङ र सुनसरी जिल्लामा मुसहरको बसोबास छ । २०६८ सालको जनगणनामा महोत्तरीमा दुई हजार ३०० जनसङ्ख्या देखिने मुसहर अहिले भने पाँच हजारको हाराहारी पुगेका जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । अहिले जिल्लाका १५ वटै स्थानीय तहसँग मुसहर लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि समन्वय भइरहेको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology