• Saturday 25th of July 2026

हात्ती सफारी र डुङ्गा सयरको आनन्द उठाउँदै पर्यटक


  • गोकर्णेश्वर अनलाइन

नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताउनुभयो । भ्रमण वर्षमा सङ्घीय सरकारले २० लाख र प्रदेश नं १ सरकारले लिएको पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य पु¥याउन महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ ।

नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटनस्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष अंसारीले बताउनुभयो । कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जग्दीशप्रसाद कुशियैत लगायतलाई हात्ती सफारी गराइएको उहाँले जानकारी दिनुभयो । यही माघ १९ देखि शुरु भएको महोत्सव यही माघ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राति तथा दिउँसो विभिन्न किसिमका कार्यक्रमसमेत हुने गरेका आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology