• Saturday 25th of July 2026

अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि


  • गोकर्णेश्वर अनलाइन

: प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेल मैदानमा आगामी आगामी वैशाख–६ गतेबाट अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिने भएको छ । जिल्ला खेलकूद महासङ्घ खोटाङको आयोजनामा पहिलोपटक आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता वैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन गरिने भएको हो । जिल्लाका १० स्थानीय तहका खेलाडी मात्र सहभागी गराइने फुटबल प्रतियोगिताका प्रथम, दोस्रो र सेमी फाइनलमा पर्ने दुई टोलीलाई क्रमशः नगद रु एक लाख ५५ हजार, रु ८५ हजार र रु ५५ हजार ५५५ को साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने महासङ्घका संयोजक माइतीराज राईले जानकारी दिनुभयो । प्रतियोगिताका मेन अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई जनही नगद रु पाँच हजार ५५५ का साथमा ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

जिल्लामा हुने हरेक फुटबल प्रतियोगितामा अन्यत्रका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा खेलकूद महासङ्घले स्थानीयस्तरका खेलाडीलाई मात्र अवसर दिने गरी प्रतियोगिता गर्न लागिएको महासङ्घका सहसंयोजक मिलनचन्द्र राईले बताउनुभयो । “जिल्लामा हुने फुटबल प्रतियोगितामा जिल्लाका भन्दा बाहिरका खेलाडीले मात्र अवसर पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याइएका खेलाडीलाई अवसर दिएपछि ओझेलमा परेका स्थानीय खेलाडीलाई अवसर दिएर खेल क्षेत्रको विकास गर्न अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता गर्न लागिएको हो ।” दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हरेक गाउँपालिकाबाट एक÷एक टोली तथा नगरपालिकाबाट बढीमा दुई टोलीलाई सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई हार नभएसम्मका दिनसम्म दैनिक नगद रु छ हजारका दरले सेवा सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

वैशाख ६ गतेबाट सञ्चालन हुने भनिएको प्रतियोगिता यसअघि पुस २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने भनिएको थियो । पुस दोस्रो सातादेखि लगातारको वर्षा र वर्षाका कारण बढेको अत्यधिक चिसोमा प्रतियोगिता सञ्चालन गर्न नसकिने भन्दै आयोजकले विज्ञप्तिमार्फत प्रतियोगिता स्थगित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology