• Saturday 25th of July 2026

अलपत्र पर्यटकलाई गाउँपालिकाद्वारा खानाको व्यवस्था


  • गोकर्णेश्वर अनलाइन

—कृष्ण न्यौपाने कोभिड–१९ को प्रभावसँगै स्वदेश फर्किन नमानेर तनहुँको बन्दीपुर गाउँपालिकामा रहेका विदेशी पर्यटकलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको छ । बन्दीपुरमा रहेका १२ जना विदेशी पर्यटकलाई गाउँपालिकाले स्वदेश फर्काउने व्यवस्था मिलाएपनि उनीहरु बन्दीपुरमै बसिरहेका छन् । विगत लामो समयदेखि नेपाल भ्रमणमा रहेका उनीहरुलाई गाउँपालिकाले खाना खुवाउने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “नयाँ वर्षको अवसरमा ती पर्यटकलाई गाउँपालिकाको सहयोगमा खाना खुवाउने व्यवस्था मिलाइएको छ”, थापाले भन्नुभयो, “आगामी दिनमा पनि उनीहरुलाई समस्या परे गाउँपालिकाले सहयोग गर्छ ।” लामो समयदेखि नेपालमा रहेका कारण उनीहरुलाई बजेटको अभाव हुन सक्ने भएकाले भोलिका दिनमा बास र खाना दुवैको व्यवस्था समेत मिलाउने बारेमा पहल भइरहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव बसन्त पौडेलले बन्दीपुरमा अलपत्र परेका विदेशी पर्यटकको समस्या समाधानका लागि गाउँपालिका र पर्यटन विकास समितिले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । “उनीहरु बन्दीपुरमा बसिन्जेल आउन सक्ने सबै समस्या समाधानका लागि पहल गरिनेछ,” उहाँले भन्नुभयो । पौडेलका अनुसार विदेशी पर्यटकले धेरै समयदेखि नेपालमा रहेका कारण पैसा सकिन लागेको, लकडाउनका कारण भनेको समयमा पैसा साट्न नसकिएको गुनासो गरेका छन् । उनीहरुलाई खाना र बासको समस्या परेको खण्डमा पनि गाउँपालिका र पर्यटन विकास समितिको पहलमा उनीहरुलाई खाना र बासको व्यवस्था मिलाइने पौडेलले जानकारी दिनुभयो ।

नयाँ वर्षमा विदेशीसँग शुभकामना साटासाट

नयाँ वर्षको अवसरमा बन्दीपुर गाउँपालिका र पर्यटन विकास समितिले विदेशी पर्यटकसँग शुभकामना आदानप्रदान गरेका छन् । सोमबार कार्यक्रमको आयोजना गरी गाउँपालिकाले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरुको समस्या बारे बुझ्ने प्रयास गरेको थियो । “विगतका वर्षमा नयाँ वर्षमा बन्दीपुर खचाखच हुन्थ्यो, तर अहिले कोरोना भाइरसका कारण बन्दीपुर सुनसान छ,” समितिका सचिव पौडेलले भन्नुभयो, “बन्दीपुरमा अलपत्र रहेका पर्यटकसँग शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनायौ ।” बन्दीपुरमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडकाा एक गरी कूल १२ जना पर्यटक रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

चट्याङले ट्रान्सफर्मरमा क्षति

सोमबार रातिको चट्याङले तनहुँको व्यास नगरपालिका–३ पराशर टोलस्थित ट्रान्सफर्मरमा क्षति पु¥याउँदा उक्त वडाका विभिन्न ठाउँमा बिहान केही बेर विद्युत सेवा अवरुद्ध भएको छ । क्षति पुगेको ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरण तनहुँले परिवर्तन गरेपछि विद्युत सेवा सुचारु भएको छ । व्यास नगरपालिकाको डोजरको सहयोगमा ट्रान्सफर्मर परिवर्तन गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology