• Saturday 25th of July 2026

मल नपाउँदा किसान चिन्तामा


  • गोकर्णेश्वर अनलाइन

बर्खेखेती गर्ने समय नजिकिँदै जाँदा कैलालीका किसानले आवश्यक मल खरिद गर्न पाएका छैनन् । एक महिनादेखिको लकडाउनका कारण बजार बन्द भएपछि किसानले मल खरिद गर्न नपाएका हुन् । धानको बीउ छर्नका लागि खेत तयार पारिसकेका किसान मल नपाएर चिन्तामा छन् । जानकी गाउँपालिका–६ का रामकृष्ण चौधरीले आवश्यक भएको समयमा मल नपाए उत्पादन वृद्धि हुन नसक्ने बताउनुभयो । “किसानले हरेक वर्ष समस्या झेल्दै आएका छौँ”, चौधरीले भन्नुभयो, “मलको समस्या सधैँ हुन्छ, विगतका वर्ष महङ्गोमा व्यापारीबाट त किन्न पाइन्थ्यो, यस वर्ष त्यो पनि छैन ।” रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । “खेतीपाती शुरु गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्छ”, जोशीपुरका किसान सरस्वती भाटले भन्नुभयो, “अहिले आवश्यकताबमोजिम मल पाउन सकिएको छैन, यतिखेरसम्म धानको बीउ राखिसक्थ्यौँ, यस वर्ष मेसो मिलेको छैन ।” कैलालीमा कृषि सहकारीले स्थानीय किसानलाई मल र बीउ सहज पाउने वातावरण मिलाउँथे ।

धनसिंहपुरका गोविन्द साउदले विगतमा सहकारीमै मल र बीउ खरिद गर्नुहुन्थ्यो । “सहकारीमै बीउ र मल किन्न पाइन्थ्यो, यस वर्ष आएकै छैन भन्छन्”, साउदले भन्नुभयो, “मेरो त वर्षातमा डुबान हुने जमिन, अहिल्यै बीउ राखेर जेठ अन्तिम सातासम्म रोपाइँ गरिसक्नुपर्छ । अब मल र बीउ किन्न कहाँ जाने होला ?” कृषि सामग्री कम्पनी धनगढीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहँुदा समस्या सिर्जना हुने देखिएको छ । लकडाउन लम्बिएसँगै खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ । कम्पनीसँग भएको मल पनि लकडाउनका कारण बजारमा पठाउन सकेको छैन । धनगढीमा अहिले दुई हजार ५०० टन युरिया, एक हजार ३०० टन डिएपी मल मौज्दात रहेको कम्पनीका निमित्त प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताउनुभयो ।

“सुदुरपश्चिम प्रदेशका लागि तीन हजार ३२५ मेट्रिकटन युरिया र एक हजार ७२० मेट्रिकटन कूल मौज्दात रहेको छ”, प्रमुख बोगटीले भन्नुभयो, “यो मल सुदूरपश्चिमको नौ वटै जिल्लाका लागि मौज्दात भएकाले आवश्यक मात्रामा मल पुग्दैन ।” कैलालीमा ९५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । यसमा सिँचाइयोग्य ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसका लागि कैलालीमा चार हजार टन युरिया र तीन हजार टन डिएपी आवश्यक हुने भएकाले समस्या रहेको बोगटीले जानकारी दिनुभयो । कैलालीलगायतलाई मध्यनजर गर्दै अहिले चार हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिकटन डिएपी केन्द्रसँग माग गरेको बोगटीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology