• Tuesday 28th of July 2026

मकवानपुरमा ५० प्रतिशत घट्यो दूध खपत


  • गोकर्णेश्वर अनलाइन

लकडाउनको समयमा मकवानपुरमा ५० प्रतिशत दूध खपत घटेको छ । दुग्ध सहकारी सङ्घका अनुसार काठमाडौँ जाने दूध कम भएसँगै खपतमा कमी आएको हो । दैनिक २० हजार लिटर दूध काठमाडौँ पठाइरहेको भए पनि लकडाउनमा १० हजार लिटर मात्र पठाइरहेको सङ्घले जनाएको छ । करिब ४० हजार लिटर दूध सङ्कलन गरेर वितरण गर्दै आएको सङ्घले हाल २० हजार लिटर मात्र दूध सङ्कलन तथा वितरण गरिरहेको जनाएको छ । दूधको खपतमा कमी आएपछि सङ्घले किसानलाई एकदिन बिराएर दूध सङ्कलनमा ल्याउन अनुरोध गरेको छ भने वितरण संस्थालाई पनि एकदिन बिराएर खोल्न निर्देशन दिएको बताइएको छ । हाल मकवानपुरमा १७ दुग्ध उद्योग रहेका सङ्घले जनाएको छ । जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष वासुदेव अधिकारीले उद्योगमार्फत साधारण अवस्थामा २० हजार लिटर दूध वितरण हुने गरेको भए पनि हाल १० हजार लिटर दूध वितरण भइरहेकाले किसानलाई एकदिन बिराउन अनुरोध गर्नु परेको बताउनुभयो ।

उहाँका अनुसार हाल किसानलाई दूधका परिकार बनाउन अनुरोध गरिएसँगै किसानले पनि एकदिनको दूध परिकार बनाउने र एकदिनको दूध सङ्कलनमा दिने गरेका छन् । उहाँले भन्नुभयो, “दूध बिक्री घटेपछि हामीले किसानलाई रोटेसन लगायौँ उहाँहरुले पनि त्यसै गर्नुभयो, अहिले उहाँहरुले घिउ, पनिर बनाउनुभएको र कसैले घरबाट नै व्यापार गर्नुभएको छ भने कसैले आफैँले प्रयोग गर्नुभएको जानकारी गराइरहनुभएको छ ।” उहाँले हालको अवस्थामा दूध बोक्ने गाडीको ब्यानरमा गैरकानूनी सामान ओसारपसार भएको गुनासो आइरहेको बताउँदै सबै उद्योगको आफ्नो आधिकारिक सवारी नभएको र भाडाको सवारी प्रयोग गर्नुपरेका कारण त्यसको फाइदा गलत काम गर्नेले उठाइरहेको बताउनुभयो । सङ्घका अध्यक्ष अधिकारी आफैँले पनि एकदिनको दूध घिउ र पनिर बनाउने गरेको जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–१२ का राजक पाठकले आफूले बनाएको घिउ र पनिर बेचेर आम्दानी भइरहेको बताउनुभयो । हेटौँडा–१९ की लक्ष्मी बर्तौलाले पनि लकडाउनको समयमा घिउ जम्मा गरिरहेको जानकारी दिनुभयो । हेटौँडा–४ की रुकु मैनालीले भने घरबाट नै दूध बिक्री गर्ने गरेको जानकारी दिनुभयो । उहाँले दैनिक २० माना दूध बेचिरहेको र अहिले किन्ने ग्राहक घरमै मास्क तथा पञ्जा लगाएर आउने गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology