• Saturday 25th of July 2026

लकडाउनका कारण गोलभेँडा बिक्री गर्न नपाउँदा किसान निरास


  • गोकर्णेश्वर अनलाइन

—राजेन्द्रप्रसाद पनेरु व्यावसायिक रुपमा गोलभेँडा खेती गरेर खुसी भएका किसान यसको बिक्री हुन नसक्दा निरास भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसानले व्यावसायिक रुपमा उत्पादन गरेको गोलभेँडा बिक्री हुन नसक्दा बारीमै कुहिन थालेपछि निरास भएका हुन् । मुलुकमा जारी बन्दाबन्दी (लकडाउन) का कारण किसानले व्यावसायिक रुपमा उत्पादन गरेको गोलभेँडा बिक्री गर्न पाएका छैनन् । यहाँका आधा दर्जन बढी किसानले गोलभेँडा खेती गरेका छन् । गत वर्ष रु तीन लाख मूल्य बराबरका गोलभेँडा बिक्री गरी राम्रो आम्दानी गरेका तेजबहादुर चौधरीले हाल रु १० हजार मूल्य बराबरका गोलभेँडा मात्रै बिक्री गर्नुभएको छ । “विगतका वर्षमा आधाभन्दा बढी उत्पादित गोलभेँडा गाउँमा हुने बिहे र भोजभतेरमै बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण बिवाह र भोजभतेर हुन छाडेको र बजारमा समेत पठाउन नसकेपछि पोकेको गोलभेँडा पनि बोटमै छाडेको छु ।” उहाँका अनुसार गोलभेँडा चाँडै बिग्रिने भएकाले व्यापारीले थोरै मात्र खरिद गर्दछन् ।

विगतमा गाउँको एउटै बिहेमा दुई क्विन्टल बढी गोलभँेडा बिक्री हुँदै आएकामा हाल पाँचदेखि १० किलोमात्रै खपत हुँदै आएको उहाँको भनाइ छ । गत वर्ष राम्रो आम्दानी हात पारेपछि गोलभेँडाप्रति आकर्षित भएका चौधरीले व्यावसायिक रुपमा गोलभेँडा खेती गरेका छन् । तर अघिल्लो वर्षको तुल्नामा यो वर्ष बिक्री नहुँदा लागत अनुसारको मूल्य नपाएर उहाँ निरास हुनुभएको छ । टनेलसहित गोलभेँडा खेतीका लागि रु ८० हजार बढी लगानी गरेका चौधरीले टमारलगायत अन्य तरकारी बिक्री गरी हालसम्म रु १० हजार मात्रै आम्दानी गरेको बताउनुभयो । “बन्दाबन्दीका कारण बिक्री नभएपछि बोटमै छाडेका छौंँ”, उहाँले भन्नुभयो, “बिक्री नहुँदा ५० क्विन्टल बढी टमाटर खेतमै खेर गएको छ ।” उहाँका अनुसार बिक्री नभएपछि व्यावसायिक गोलभेँडा खेती शुरु गरेका किसान मर्माहत भएका छन् । बढी फल्ने युएस २८५३ जातको गोलभेँडा यस क्षेत्रका किसानले खेतबारीमा रोपेका छन् । एउटै बोटमा मात्रै २५ देखि ३० किलोसम्म गोलभेँडा फल्ने गर्दछ ।

गोलभेँडा खेतीमै संलग्न बीना चौधरीले पनि बारीमा लटरम्म फलेको गोलभेँडा बिक्री गर्न पाउनुभएको छैन । “बिक्रीका लागि बजारमा लैजाँदा व्यापारीले नाइनास्ती गर्छन्”, उहाँले भन्नुभयो, “गाउँमा थोरै मात्र खपत हुन्छ । बजारमा बिक्री नहुने र भण्डारणको भरपर्दो व्यवस्था नहँुदा घर ल्याउँदा दोस्रो दिन कुहेर जान्छ ।” गत वर्ष रु दुई लाख बढीको गोलभेँडा बिक्री भएकामा यो वर्ष रु पाँच हजारको पनि गोलभेडा बिक्री हुन नपाएको उहाँको दुखेसो छ । “गतवर्ष खेतमै पुगेर व्यवसायीले प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य दिएका थिए, तर यो वर्ष आठ रुपैयाँदेखि १० रुपैयाँभन्दा बढी मूल्य पाएको छैन्” किसान बीना चौधरीले भन्नुभयो, “बजारसम्म पु¥याउने खर्च नउठ्ने अवस्था भएपछि बोटमै छाड्न बाध्य भएका छौंँ ।” खेतबारीमै खरिद गर्न आउनेलाई किसानले प्रतिकिलो रु पाँचमा दिन थालेका छन् । थोरै मूल्यमा गोलभेँडा बिक्री गर्न थाले पनि ग्राहक पाउन नसकिएको किसानको दुखेसो छ । सस्तोमा बिक्री गर्नुपर्ने बाध्यताले व्यावसायिक गोलभेँडा खेती शुरु गरेका किसान मर्माहत भएका छन् । गोलभेँडा खेतीमा गरिएको लगानीसमेत उठ्न नसकेपछि किसान निरास भएका छन् ।

छ वर्षअघिदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न बेलडाँडीका किसानले पाँचदेखि १० कठ्ठा जग्गामा गोलभेँडा खेती गरेका छन् । यहाँका किसानले गोलभेँडासँगै काँक्रा, लौका, फर्सी, मुला, रायो, बोडी, तितेकरेला खेतीसमेत गरेका छन् । विगतमा १० क्विन्टल जाने ठाउँमा एक क्विन्टल तरकारी मात्रै खपत हुन थालेको राधा डगौराले बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा तरकारीको खपत घटेसँगै मूल्यमा समेत आधा बढीले गिरावट आएको छ । तरकारी खेतीबाट आम्दानी गर्ने सोच अघि सार्दै व्यावसायिकरूपमा लागेका किसानको मनोबल घटेर गएको उहाँको भनाइ छ । बेलडाँडी गाउँबाट मात्रै गोलभेँडा प्रतिवर्ष रु १० देखि १५ लाखको बिक्री हुँदै आएकामा हाल घटेर रु दुई लाखसम्मको गोलभँेडा मात्रै बिक्री भएको किसानको भनाइ छ । गोलभेँडालगायतका तरकारी बिक्रीको सहज व्यवस्था मिलाइदिन किसानले तीन वटै तहका सरकारसँग आग्रह गरेका छन् ।

“ढुवानीका साधनमा राखेर तरकारी बिक्रीका लागि लैजान सहज छैन”, स्थानीयवासी अमरबहादुर साउदले भन्नुभयो, “महिलाले टाउकोमा टोकरी बोकेर गाउँगाउँ चहार्दै तरकारी बिक्री गर्दै आएका छन् ।” “तरकारी खेती नहुँदा यहाँका धेरै युवा रोजगारीका लागि भारतलगायतका तेस्रो मुलुकमा जाने गरेका थिए । तर व्यवसायिक तरकारी खेतीमा लागेपछि उनीहरुको विदेशिने क्रम रोकिएको थियो”, उहाँले भन्नुभयो, “उत्पादित तरकारी बिक्री हुन नपाएपछि किसानको लगानी डुबेको छ । युवा हतोत्साहित भएका छन् ।” बन्दाबन्दीका कारण व्यावसायिक गोलभेँडा खेतीबाट मर्माहत भएका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन उनीहरुले तीन वटै तहका सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology