• Saturday 25th of July 2026

नदी बगरमा लहलहाउँदो तरकारी खेती


  • गोकर्णेश्वर अनलाइन

नेपाल–भारत सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने कैलालीको मोहना नदी बगरमा गरिएको लहलहाउँदो तरकारी खेतीले कृषिकर्म गर्नेहरुलाई लोभ्याउने गरेको छ । माटोबिनाको बगरको पूरै बलौटे जग्गामा पनि तरकारी खेती फस्टाएर भइरहेको तरकारी उत्पादन र आम्दानीले कृषिकर्म गर्नेहरुलाई लोभ्याउने गरेको हो । “फस्टाएको बगर खेतीबाट भइरहेको आम्दानीले नदी बगरमा खेती नगर्ने अरु किसानलाई राम्रो पाठ सिकाएको छ”, धनगढी उपमहानगरपालिका–२ को मोहना नदी बगरबाट तरकारी लिएर फर्किँदै गर्दा भेटिनुभएका किसान शेरबहादुर चौधरीले सनाउनुभयो, “मेहनती र परिश्रमी किसानले बाँझो रहेको बलौटे जग्गामा लहलहाउँदो तरकारी खेती गरेर उदाहरणीय काम गरेका छन् ।” तरकारी खेती गर्ने आफ्नो पुख्र्यौली पेशा रहेको बताउनुहुने भारतीय नागरिक नसिर अहमदले भन्नुभयो, “तरकारी खेतीले जीविका चलाउन सहज भइरहेको थियो, यस वर्ष भने कोरोनाको सङ्कटले सोचे जति बिक्री हुन नसक्दा समस्या भएको छ ।”

बगरको झण्डै ११ बिघा जग्गामा गरिएको तितेकरेला, काँक्रा, फर्सी, लौका, खरबुजा लटरम्म फलेको देखिँदा नसिर अहमदसमेतको कृषक समूहले गरेको मेहेनत र परिश्रम झल्किन्छ । बगरमै पुग्ने उपभोक्तालाई तरकारी टिपेर बिक्री गर्दैगर्दा थोरै सन्तुष्टि देखिने बगरका कृषक यस वर्ष सोचेजतिको तरकारी बिक्री नहुँदा भने चिन्तित हुनुहुन्छ । कोरोना सङ्कटसँगै जारी बन्दीबन्दीका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन नपाउँदा बगरको तरकारी बिक्री हुननसकेको हो । बगर खेतीको अगुवाइ गरिरहनुभएका अहमदले भन्नुभयो, “जग्गा भाडामा लिएर तरकारी खेती गर्दा हुने कमाइले परिवार पाल्न सहज भइरहेको थियो, यस वर्ष भने सोचेजति आम्दानी हुने देखिँदैन ।” कोरोना भाइरस रोकथामका लागि बगरखेतीका किसान सचेत देखिन्छन् । अर्का किसान अकबर हुसेनले भन्नुभयो, “आफूकहाँ आउने ग्राहकलाई समेत मास्क लगाउन र समूहमा नभई एक्लाएक्लै तरकारी लिन आउन अग्रह गरिरहेका छौँ ।”

उहाँका अनुसार ‘सीमापारि भारतीय प्रहरी र वारि नेपाली प्रहरीको गस्ती रहेकाले नदी तरेर कसैले सीमा वारपार गर्न नसक्ने अवस्था छ । भारतको बरेली बजार नजिकको एक गाउँका बासिन्दा हुसेन र अहमदको परिवार चार दशकदेखि धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमाक्षेत्रको मोहना नदीको बगरमा तरकारी खेती गरेर हुने कमाइले जीविकोपार्जन गरिरहेको छ । मोहना नदीको बगरमा तरकारी खेती गर्नेमध्ये अधिकांश भारतीय नागरिक छन् । पछिल्ला वर्षमा नेपाली कृषकले पनि नदी बगरमा तरकारी खेती गर्न सिकेका छन् । “मेरो बारीमा तीन–चार वर्ष पहिलेदेखि नै काम गर्ने स्थानीय नेपाली किसानले अहिले आफैँ तरकारी खेती गर्न सिकेर राम्रो कमाइ गरिरहेका छन्”, अर्का भारतीय किसान समीर अहमदले भन्नुभयो, “तरकारी खेतीबाट राम्रो कमाइ गर्न नसकिरहेका अन्य किसानका लागि बगर खेती उदाहरण बनेको छ ।”

कोभिड–१९को सन्त्रासका बीच जारी लकडाउनसँगै बजारमा आवागमन गर्न सहज नभएपछि यतिबेला कतिपय उपोक्ता नदी बगरमै पुगेर तरकारी खेती गरिहेको भेटिन्छन् । यहाँका बजार क्षेत्रमा लाग्ने कृषि हाटबजार लकडाउन जारी भएसँगै झण्डै दुई महिनादेखि बन्द छन् । बगरमा उत्पादन भएको तरकारी कृषि हाटबजार हुँदै काठमाडौँसम्म आपूर्ति हुने गरेको यी किसानको भनाइ छ । नदी बगर खेती विस्तार हुँदै जाँदा भारतीय क्षेत्रबाट गर्मीयाममा आपूर्ति हुने गरेको तरकारीको परिमाण घट्दै गएको छ । “बगरको तरकारी कैलाली जिल्लाका स्थानीय बजारका साथै नारायणघाट, बुटवल, नेपालगञ्ज, काठमाडौँसम्म पुग्थ्यो, यस वर्ष भने कोरोनाको सङ्कटले बाहिर पठाउन नसक्दा बिक्री पनि घटेको छ”, नसिरले भन्नुभयो । कोरोनाको सङ्कटसँगै धेरै युवा बेरोजगार बन्ने देखिएको अहिलेको अवस्थामा कृषि र त्यसमा पनि तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सकिने स्थानीय किसान रामबहादुर चौधरी बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology