• Saturday 25th of July 2026

झापामा चार लाख बिरुवा वितरण गरिँदै


  • गोकर्णेश्वर अनलाइन

डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । सङ्घीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको हो । त्यस्तै सङ्घीय सरकारअन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने उहाँले बताउनुभयो । टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने भएको हो । “स्थानीय जातका बोटबिरुवा पनि वितरण गर्ने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसबाट वन पैदावारको आपूर्तिसँगै स्थानीय जातका बोटविरुवाको पनि संरक्षण हुनेछ ।” कार्यालयले असार १५ गतेपछि बिरुवा वितरण गर्ने योजना बनाएको छ ।

कार्यालयको सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन भइसकेको छ भने फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । “बोलपत्र परिसकेको छ”, उहाँले भन्नुभयो, “लकडाउनका कारण केही ढिलाइ भएको हो ।” कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने भएको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१÷७२ मा सात लाख, आव २०७२÷७३ मा आठ लाख ५० हजार, आव २०७४÷७५ मा नौ लाख ५० र आव २०७५÷७६ मा तीन लाख ४५ हजार बिरुवा वितरण गरेको थियो । खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएपछि बिरुवाको माग बढ्दै गएको छ । वन कार्यालयले बिरुवाका लागि निवेदन दिन आउनेलाई १५ र ठूलो क्षेत्रफलमा रुख लगाउने मागपत्र लिएर आउनेलाई आवश्कतानुसार बिरुवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology